एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्दै - Chaitanya News
  • 2026-04-27
  • 16:24:16
  • सोमबार,बैशाख १४, २०८३
  • एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्दै

    एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्दै

    काठमाडौँ– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन्। आज (सोमवार) काठमाडौँमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रसारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानुनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाइ छ।

    उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए।

    ‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन हुने, इरादा फरक भएर डिसइन्फरमेशन हुने, हेट स्पिज एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सिर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो। कानून कार्यान्वयन नै कानुनी शासनको आधार हुने हुँदा कटपेष्ट, कपीपेष्ट को यान्त्रिकतामा सृजनशीलताको शून्यता हुन्छ,’ उनले भने।

    प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूले आफ्नो धर्मको रूपमा आत्मासात गर्न जरुरी रहेको पनि बताए।