नवजात शिशु र बाल मृत्युदर सुदूरपश्चिममा अधिक, बागमतीमा कम - Chaitanya News
  • 2026-02-11
  • 04:16:50
  • मंगलबार,माघ २७, २०८२
  • नवजात शिशु र बाल मृत्युदर सुदूरपश्चिममा अधिक, बागमतीमा कम

    नवजात शिशु र बाल मृत्युदर सुदूरपश्चिममा अधिक, बागमतीमा कम

    काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२ को नतिजा सार्वजनिक गरेको छ । सावैजनिक नतिजा अनुसार, नेपालमा नवजात शिशु र बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक रहेको पाइएको छ। प्रादेशिक रुपमा सबैभन्दा बढी शिशु मृत्युदर सुदूरपश्चिममा भएको पाइएको छ।

    सर्वेक्षण अनुसार नेपालमा हरेक एक हजार जीवित जन्मेका शिशुमध्ये एक वर्ष नपुग्दै २७ शिशुको मृत्यु हुने गरेको छ। प्रतिहजार जीवित जन्ममा पाँच वर्षमुनिका ३१ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। साथै प्रत्येक एक हजार जीवित जन्ममा एक महिनाभित्र १७ नवजात शिशुको मृत्यु हुने गरेको सर्वेक्षणबाट देखिएको छ।

    यसमध्ये नवजात शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा एक हजार जीवित जन्ममा २६ जना रहेको छ। बागमतीमा १० रहेको छ। शिशु मृत्युदरसमेत सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्रतिहजारमा ३८ रहेको छ। सबैभन्दा कम बागमतीमा १७ छ। पाँच वर्ष मुनीका बालबालिकाको बालमृत्युमा समेत सबैभन्दा धेरै सुदूरपश्चिममा प्रतिहजार ४८ जना रहेको छ। सबैभन्दा कम गण्डकीमा प्रतिहजार २० जना रहेको देखिएको कार्यालयले जनाएको छ।

    कार्यालयका अनुसार नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय स्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न र स्तरीय एवमस् तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यले नेपाल बहुसूचक सर्वेक्षण गरिएको हो।

    यस सर्वेक्षणमा तथ्यांक संकलन गर्न नेपालभर ५४० क्लष्टर (गणना क्षेत्र)मध्ये शहरी क्षेत्रबाट ३०४ र ग्रामीण क्षेत्रबाट २३६ क्लष्टर छानिएको थियो। हरेक क्लष्टरबाट २४ परिवार छनोट गरी तथ्यांक संकलन गरिएको थियो। यसरी छानिएका १२ हजार ९६० परिवारबाट पारिवारिक विवरण संकलन गरिएको थियो।

    दीगो विकास लक्ष्य अनुसार विश्वव्यापी रुपमा नवजात शिशु मृत्युदुर प्रतिहजारमा १२ वा सो भन्दा कममा झार्ने उद्देश्य लिइएको छ। ५ वर्ष मुनीको बालमृत्युदुर प्रतिहजार जीवित जन्ममा २५ वा सो भन्दा कममा झार्ने लक्ष्य रहेको छ।

    सर्वेक्षणको नतिजा अनुसार एक महिनाभित्रका नवजात शिशुको मृत्युदर शहरमा प्रतिहजार १६ र ग्रामीण भेगमा प्रतिहजार जीवित जन्ममा १९ रहेको छ। जुन एक वर्षमुनिका शिशुको हकमा शहरमा २६ र ग्रामीण भेगमा २७ जना रहेको छ। यो दर पाँच वर्षमुनिका बालबालिकाको हकमा हेर्दा शहरमा ३१ र ग्रामीण भेगमा ३० जना रहेको छ।

    उता, बालक र बालिका अनुसार हेर्दा नवजात, शिशु र बालबालिका सबैमा बालकको मृत्युदुर माथि छ। हरेक १ हजार जीवित जन्ममा एक महिना भित्रका १८ बालकको मृत्यु भएको देखिन्छ। बालिकाको दर प्रतिहजार जीवित जन्मा १५ रहेको छ। शिशुको हकमा प्रतिहजार जीवित जन्ममा बालक २७ र बालिका २६ को मृत्यु हुने गरेको छ। पाँच वर्षमुनिको हकमा बालक ३१ र बालिकाको मृत्युदुर प्रतिहजार जीवित जन्ममा ३० रहेको छ।