सात उम्मेदवार, एउटै सिटः बझाङमा पुरानो घाउ र नयाँ दाबीको टक्कर - Chaitanya News
  • 2026-04-26
  • 19:26:03
  • आइतबार,बैशाख १३, २०८३
  • सात उम्मेदवार, एउटै सिटः बझाङमा पुरानो घाउ र नयाँ दाबीको टक्कर

    सात उम्मेदवार, एउटै सिटः बझाङमा पुरानो घाउ र नयाँ दाबीको टक्कर

    काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ फेरि एकपटक राजनीतिक चासोको केन्द्रमा उभिएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा यसपटक सात जना उम्मेदवार चुनावी मैदानमा छन्। सातै जना फरक राजनीतिक पृष्ठभूमि, फरक जीवनयात्रा र फरक एजेन्डासहित मतदाताको घरदैलोमा पुगेका छन्।

    २०७९ सालको आम निर्वाचनमा ९९८ मतको झिनो अन्तरले नतिजा फेरिएको बझाङमा यो निर्वाचनलाई धेरैले ‘प्रतिस्पर्धाको पुनरावृत्ति’ मात्र होइन, ‘राजनीतिक सन्तुलनको परीक्षा’ का रूपमा पनि हेरेका छन्। ठूला दलका अनुभवी नेता, नयाँ दलका वैकल्पिक अनुहार, पटक–पटक पराजित भए पनि नथाकेका उम्मेदवार र विचारकै लागि चुनाव लड्नेहरू—सबै एकै मैदानमा छन्।

    अधुरो संसद यात्रालाई पूरा गर्ने दाउमा ऐन महर:


    नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरका लागि बझाङको यो चुनाव भावनात्मक रूपमा पनि निकै गहिरो छ। २०७९ को निर्वाचनमा उनी जितको अत्यन्तै नजिक पुगेर रोकिए। नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग उनी ९९८ मतले पराजित भए। यही मतान्तरलाई मेट्ने संकल्पका साथ महर पुनः चुनावी मैदानमा उत्रिएका छन्।

    विद्यार्थी राजनीतिबाट उदाएका महरको शैक्षिक पृष्ठभूमि बलियो छ। त्रिचन्द्र क्याम्पसबाट विज्ञानदेखि समाजशास्त्रसम्म अध्ययन गरेका उनी हाल एमफिलरपीएचडी र एलएलबी गर्दैछन्। मदन भण्डारीको दासढुंगा दुर्घटनाले राजनीतिमा तानेका महर अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै एमाले केन्द्रीय सदस्य बने।

    उनको प्राथमिकतामा सडक पूर्वाधार, स्वास्थ्य सेवा र चीनसँगको ताक्लाकोट नाका छन्। सदरमुकामदेखि सबै पालिका केन्द्रसम्म पक्की सडक, धुलीदेखि ताक्लाकोटसम्म सुरुङ मार्ग, १५० शैयाको सुविधा सम्पन्न जिल्ला अस्पताल, हरेक पालिकामा आधारभूत अस्पताल, आवासीय विद्यालय, जलविद्युत्, जडीबुटी प्रशोधन र खानी उत्खनन—उनका एजेन्डा महत्वाकांक्षी छन्।मेरो प्रतिस्पर्धी अरु उम्मेदवार होइन, बझाङको गरिबी र पछौटेपन हो,’ महर भन्छन्।गत चुनावको नतिजा र एमालेको संगठित संरचनाका कारण महरलाई यो चुनावको बलियो दावेदार मानिन्छ।

    रुख’ फर्काउने अभियानमा प्रकाश रसाइली स्नेही:

    नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेही यसपटक बझाङमा कांग्रेसको प्रत्यक्ष उम्मेदवारको रूपमा मैदानमा छन्। २०७९ मा गठबन्धनका कारण कांग्रेसले प्रत्यक्ष उम्मेदवार नउठाए पनि समानुपातिकतर्फ १९ हजारभन्दा बढी मत ल्याएको थियो। यही आधारलाई बल बनाउँदै कांग्रेसले यसपटक आफ्नै उम्मेदवार अघि सारेको छ।

    दलित समुदायबाट उदाएका स्नेही विद्यार्थी राजनीतिबाट खारिएर आएका नेता हुन्। नेविसंघ हुँदै कांग्रेसको केन्द्रीय महामन्त्रीसम्मको यात्रा तय गरेका उनी २०७४ मा समानुपातिक सांसद बने। संसदमा उद्योग, वाणिज्य र श्रम समितिमा खेलेको भूमिकाले उनलाई राष्ट्रिय स्तरमा चिनायो। स्नेहीको दाबी छ– कांग्रेसको संगठन बलियो छ, स्थानीय तहमा पार्टीको पकड राम्रो छ र पार्टीभित्रको एकता यसपटक मजबुत छ। उनको विकास दृष्टिकोणमा सेती लोकमार्गको स्तरोन्नति, ताक्लाकोट नाकासँग सडक सञ्जाल, जलविद्युत्, पर्यटन, शिक्षा र स्वास्थ्य सुधार छन्। ‘म कुनै गुटको उम्मेदवार होइन, सिङ्गो कांग्रेसको उम्मेदवार हुँ,’ स्नेही भन्छन्। उनको आत्मविश्वास र कांग्रेसको परम्परागत मत बैंकले उनलाई प्रतिस्पर्धाको अग्रपंक्तिमा राखेको छ।

    बन्दुक बिसाएर मतपेटिकामा भरोसा खोज्दै मीन कुँवर:

    माओवादी जनयुद्धका लडाकु, जनमुक्ति सेनाका कमिसार र पार्टी संगठनका अनुभवी नेता—मीनबहादुर कुँवर यसपटक नेपाली कम्युनिष्ट पार्टी का साझा उम्मेदवार हुन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र भीम रावल निकट समूहको समर्थन पाएका कुँवरलाई कम्युनिष्ट मत एकत्रित गर्ने उम्मेदवारका रूपमा हेरिएको छ।

    २०५७ देखि जनयुद्धमा होमिएका कुँवर शान्ति प्रक्रियापछि पनि निरन्तर राजनीतिमा सक्रिय रहे। नेकपा एकीकरणपछि बझाङ जिल्ला अध्यक्ष बनेका उनी अहिले केन्द्रीय सदस्य छन्। उनको मुख्य एजेन्डा जलस्रोत, जडीबुटी, कृषि र पर्यटन हो। ‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादको आधार तयार गर्नु मेरो लक्ष्य हो,’ उनी भन्छन्। कम्युनिष्ट मत विभाजन नहुने हो भने कुँवर निर्णायक खेलाडी बन्न सक्ने आँकलन धेरैको छ।

    पुराना दलको पकडलाई प्रश्न गर्दै, शैलेशको उदय:


    राष्ट्रिय स्वतन्त्र पार्टीका ३८ वर्षीय उम्मेदवार शैलेश कुमार सिंह बझाङको चुनावी राजनीतिमा नयाँ अनुहार हुन्। बैंकिङ करिअर र सफल व्यवसाय छाडेर राजनीतिमा होमिएका उनी आफूलाई ‘काम गरेर देखाउने उम्मेदवार’ का रूपमा प्रस्तुत गर्छन्। उनको प्राथमिकता सडक, स्वास्थ्य, रोजगारी र शिक्षा हुन्। जडीबुटी प्रशोधन केन्द्र, माछा पालन, मोबाइल हेल्थ क्याम्प, इ–लाइब्रेरी जस्ता व्यावहारिक योजनाले उनी युवा मतदातामाझ लोकप्रिय देखिन्छन्। ‘गफ होइन, काम गर्न आएको हुँ,’ सिंह भन्छन्। रास्वपाको संगठन बझाङमा अझै कमजोर भए पनि मतदाताको मनोविज्ञान बदलिएको दाबी उनी गर्छन्।

    हारले नथाकेका विश्वप्रकाश जेठारा


    राप्रपाका उम्मेदवार विश्वप्रकाश जेठारा पाँचौँ पटक चुनावी मैदानमा छन्। अघिल्ला चुनावहरूमा कमजोर नतिजा आए पनि उनी निराश छैनन्। हिन्दु राष्ट्र, राजसंस्था, भ्रष्टाचारविरुद्धको एजेन्डा बोकेर उनी फेरि जनतामाझ पुगेका छन्। साधारण जीवनशैली, इमानदार छवि र लामो समाजसेवाको पृष्ठभूमि उनका मुख्य पहिचान हुन्। ‘जितभन्दा पनि एजेन्डा स्थापित गर्न लडिरहेको छु,’ जेठारा भन्छन्।

    विद्रोहलाई मतपत्रमा अनुवाद गर्ने प्रयासमा भरत मल्ल:


    नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का उम्मेदवार भरत मल्लको उम्मेदवारी वैचारिक विद्रोहको प्रतीक हो। बाल्यकालमै राज्यको दमन भोगेका मल्ल जनयुद्धदेखि भूमिगत राजनीतिसम्मको यात्राबाट आएका हुन्। उत्पादनसँग जोडिएको विकास, युवालाई श्रम र उद्योगमा जोड्ने उनको एजेन्डा छ।
    ‘विकास फल्नुपर्छ, जनताले चाख्न पाउनुपर्छ,’ मल्ल भन्छन्।

    जितको होइन, असहमतिको राजनीति बोकेर मैदानमा दलबहादुर बोहरा:


    नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दलबहादुर बोहरा संगठन कमजोर भए पनि विचार बलियो भएको दाबी गर्छन्। शिक्षकबाट वकिल बनेका बोहराको उम्मेदवारी ठूला दलविरुद्धको वैचारिक विरोधको रूपमा हेरिन्छ।

    बझाङको चुनावी मैदानमा यी सात उम्मेदवारले फरक–फरक दृष्टिकोण, राजनीतिक यात्रा र एजेन्डा लिएर मतदातासँग संवाद गरिरहेका छन्।

    सातै उम्मेदवार बझाङको पिछडापन, विकास र रोजगार सृजनामा केन्द्रित देखिन्छन्। फरक–फरक दृष्टिकोण भए पनि साझा संदेश एउटै छस् बझाङलाई समृद्ध बनाउने र मतदाताको जीवनस्तर उकास्ने।निर्वाचन नजिकिँदै गर्दा मतदाताले यी सात उम्मेदवारका भिन्न एजेन्डा, अनुभव र योजना मूल्यांकन गर्दै आफ्नो मत दिनेछन्। यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा नभई विकास, विचार र नेतृत्वको प्रत्यक्ष परिक्षण हुने अपेक्षा गरिएको छ।