तोमनाथ उप्रेती:
नेपालको प्रशासनिक प्रणाली अहिले एउटा गम्भीर नैतिक सङ्कटको दोबाटोमा उभिएको छ। कुनै समय सेवाभाव, अनुशासन र लोककल्याण प्रशासनिक कार्यशैलीका मेरुदण्ड थिए । तर आज अधिकार नै लक्ष्य बन्न थालेको छ, जिम्मेवारी होइन। पद प्राप्तिको दौडले सेवा–भावनाको स्थान लोभ, प्रतिस्पर्धा र स्वार्थले ओगटिसकेको छ। यस युगमा प्रशासन केवल नीतिगत संरचना होइन, यो एउटा आध्यात्मिक अनुशासन पनि हो—जहाँ कर्म, विचार र चरित्रको सामञ्जस्य नै राष्ट्रको मेरुदण्ड बन्छ।
संस्कारयुक्त प्रशासनको मूल आत्मा निष्ठा र आचरण हो। कुनै नियमले होइन, आन्तरिक चेतनाले नै वास्तविक सुशासन जन्माउँछ। प्रशासनिक कर्मचारी वा नेतृत्व तबसम्म सफल हुन सक्दैन जबसम्म ऊ आफ्नो कर्तव्यलाई ‘दायित्व’ होइन, ‘धर्म’को रूपमा ग्रहण गर्दैन। संस्कार पारिवारिक परम्परा मात्र होइन, सोच, संवेदना र विवेकको निरन्तर अभ्यास हो । जब प्रशासनिक वृत्तमा नैतिक मूल्य र संस्कार कमजोर हुन्छन्, तब निर्णयमा पारदर्शिता हराउँछ, जनताप्रतिको उत्तरदायित्व मर्छ, र शक्ति व्यक्तिगत स्वार्थको औजारमा परिणत हुन्छ।
नैतिकता भनेको सुविचार, असल आचरण, सकारात्मक व्यवहार, स्वच्छता, निष्पक्षता र इमानदारीको प्रतिबिम्ब हो। उच्च नैतिक मूल्य, आदर्श र सिद्धान्त विपरीत गरिने व्यवहार भ्रष्टाचारका रूपहरू हुन्। नियम, कानून र मर्यादा विपरीत गर्ने कार्य, घुस, पक्षपातपूर्ण निर्णय र पतित आचरण नै नैतिक पतन हुन्।कार्यसम्पादनलाई व्यावसायिक र जनमुखी बनाउने मूल्य, सिद्धान्त र मानकहरूको अवलम्बन नै नैतिकता र सदाचारिता हो। सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । प्रत्येक पदाधिकारीबाट सेवाग्राहीले खास व्यवहारको अपेक्षा गछर्न् । त्यो अपेक्षा पूरा गर्न सके मात्र सार्वजनिक प्रशासनमा प्रभावकारिता आई सर्वसाधारण सन्तुष्ट हुन्छन् । राज्यलाई सधैं इमानदार मानिसहरूको खाँचो पर्दछ ।सर्वसाधारणहरूको अनुभूतिमा नैतिक आचरणको स्तर निकै कमजोर रहेको अवस्था छ । नागरिकहरू स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन्। तर त्यसको सामथ्र्य र तत्परता सार्वजनिक क्षेत्रमा देखिएको छैन। संस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतीकरणले प्रशासनयन्त्र पक्षपाती देखिएको छ ।
सदाचार र सुशासन एक अर्काका परिपूरक हुन् । सदाचार भएका नागरिक बिना सुशासन कायम गर्न अप्ठ्यारो हुन्छ भने सुशासन कायम गर्न सकिएन भने सदाचारीता हराउदै जान्छ र दुराचारीले समाजमा राज गर्छन् जसको कारण राष्ट्रको गरिमा, समृद्धि बढ्नु त परै जाओस् सामान्य मानवीय सम्बन्धमा समेत गिरावट आउछ । कारण राष्ट्र निर्माणमा सदाचार र सुशासनको ठुलो महत्व छ ।मानव समाज नीति, कर्म र आचरणबाट चल्ने हो।सदाचार व्यक्तिको विवेक वा अन्तरात्मामा छिपेर रहने त्यस्तो शक्ति हो, जसले व्यक्तिलाई गलत काम नगर्न सचेत गराउँछ । सदाचारी मानिस अन्तरात्माको यही आवाजका कारण स्वार्थ, लोभ, लालसा, आग्रहजस्ता कमजोरीसँग सम्झौता गर्दैनन् ।
सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता जस्ता बिषयहरु पर्दछन् ।जसले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्रयाउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ ।
प्रशासन सरधारका लागि निष्ठा,आचरण , संस्कार, कार्यशैली र व्यवहारमा रूपान्तरणको खाँचो छ । सार्वजनिक क्षेत्रका पदाधिकारीले कार्यसम्पादन गर्दा निष्ठा,आचरण , संस्कार, कार्यशैली र व्यवहारमा सकारात्मक सोंच देखिनुपर्छ ।सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो ।
सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ । सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ । अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ ।राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विधमान छ ।
सार्वजनिक प्रशासनमा पदाधिकारीहरूले उच्च नैतिक आचरण प्रदर्शन गर्नुपर्ने आवश्यकता सधैं देखिन्छ। यस परिस्थितिमा, प्रशासनिक प्रणालीमा नैतिकताको संस्थागत अभ्यास अपरिहार्य हुन्छ। नीति, नियम र व्यवहारप्रति सतर्क रहँदै उदाहरणीय चरित्र प्रदर्शन गर्नु नै नैतिकताको वास्तविक स्वरूप हो। नीति र मार्गको पालना गर्दै जनकल्याणमुखी कार्य गर्नु नै नैतिकता हो।बौद्ध दर्शनले पनि सम्पत्ति र शक्ति मात्रले जीवन सफल नहुने बताएर नैतिकतालाई शान्ति र सन्तोष प्राप्तिको मूल आधारको रूपमा देखाएको छ। नैतिकता वा आचरण ठिक र बेठिक, असल र खराब चालचलनको मार्गदर्शक सिद्धान्त हो। सदाचार र आचरण प्रायः समानार्थी शब्द हुन्, जसले व्यक्तिको मूल्य र मान्यतामा आधारित व्यवहारलाई निर्देशित गर्दछ।
सार्वजनिक जीवनमा दक्षता, इमानदारी र नैतिकता आवश्यक छन्। जिम्मेवार व्यक्तिहरूका व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्नुपर्छ। लोकतन्त्र, शान्ति र सुशासनको आधार नै सदाचार हो, जसले प्रभावकारी शासन व्यवस्थाको निर्माणमा योगदान पुर्याउँछ। सदाचार भनेको नीति, नियम र व्यवहारमा उच्च सतर्कता र इमानदारीको पालना गर्नु हो, जसले सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।
आचरण व्यक्तिको दैनिक जीवनमा अपनाइने मूल्य, मान्यता र नैतिकताको समष्टि हो, जसले ठिक र बेठिकको निर्णय गर्न मद्दत गर्दछ। प्रशासकीय आचरण भनेको प्रशासनिक कार्य प्रभावकारी र दक्षतापूर्वक सम्पन्न गर्न आवश्यक मूल्य, नियम र कानुनको समष्टि हो। नैतिक आचरणले व्यक्तिको मूल्यांकनमा उच्च स्थान दिलाउँछ र यसमा पवित्रता, धैर्य र सहनशीलता आवश्यक हुन्छ।
सार्वजनिक प्रशासनमा नैतिक आचरण र सदाचार प्रोत्साहन गर्न विविध संयन्त्रहरू अपनाउन सकिन्छ, जस्तै: कार्यसम्पादन सूचक, सेवा बडापत्र र नागरिक सहभागीकरण। प्रविधिको प्रयोग र नागरिक चेतनाले प्रशासनलाई अधिक नैतिक र व्यावसायिक बनाउन मद्दत पुर्याउँछ। यसले सार्वजनिक सेवामा आत्मनियन्त्रण, निष्पक्षता र पारदर्शिता ल्याउँछ, जसले भ्रष्टाचार र लापरबाही रोक्छ र सेवा वितरण छिटो र प्रभावकारी बनाउँछ।अन्ततः, सार्वजनिक प्रशासनमा आवश्यक विषय नै सदाचार र सुशासन हो। यी एक–अर्कामा आवद्ध छन्। सार्वजनिक संस्थाहरू समाज व्यवस्थित गर्न र संस्कार स्थापित गर्न निर्माण गरिएका हुन्। नेतृत्व भनेको विधि र निष्ठाको प्रतीक हो। नीतिप्रतिको निष्ठाले नेतृत्व बलियो बनाउँछ, र नेतृत्वको उदाहरणीयताले संस्थालाई बलियो बनाउँछ। बलिया संस्थाले नै सुशासनको आधार तयार गर्छ। त्यसैले, पदाधिकारी र संस्थाहरूको व्यवहारमा नैतिकता, सदाचार र व्यावसायिकता स्पष्ट देखिनु आवश्यक छ।
नेपालको निजामती सेवामा नैतिक आचरण र सदाचार कमजोर रहेको पाइन्छ। यसको कारण राजनीतिक र प्रशासनिक नेतृत्वको कमजोरिता, दण्ड र पुरस्कारको प्रभावकारी व्यवस्था नहुनु, आचार संहिता कार्यान्वयनको अनुगमन नहुनु, र दण्डहीनता बढ्नु हो। यसले सरकारी सेवा र विकास कार्यमा असर पुर्याउँछ र सुशासन कायम गर्न चुनौती पुर्याउँछ।
सार्वजनिक प्रशासनमा हाम्रा संस्कार, कार्यशैली, आचरण र व्यवहारमा सुधारको कमीले आजको समाजमा गम्भीर समस्याहरू उत्पन्न गरेका छन्। यसको प्रत्यक्ष प्रभाव भनेको आम जनताको प्रशासन संयन्त्रप्रति बढ्दो वितृष्णा र निराशा हो। जब प्रशासनिक प्रणाली प्रभावकारी, पारदर्शी र नैतिक दृष्टिले कमजोर हुन्छ, तब नागरिकको विश्वास कमजोर पर्छ र शासन व्यवस्थामा असंतोष फैलिन थाल्छ। यसले न केवल सार्वजनिक प्रशासनको छवि बिगार्छ, अपितु राष्ट्रको समग्र विकास र सुशासनमा पनि विघ्न पुर्याउँछ। प्रशासनिक प्रणालीको सुधारको लागि संस्थागत सुधार र सशक्त नेतृत्वको आवश्यकता छ। सबै स्तरका अधिकारीहरूलाई नैतिक मूल्यमान्यता र उच्च आचरणका साथ काम गर्न प्रेरित गर्नुपर्नेछ। यस्तो वातावरणमा भ्रष्ट्राचार र अन्य अनियमितताहरू स्वतः कम हुनेछ। यस्ता सुधारले मात्र प्रशासनमा विश्वास पैदा गर्न सक्छ र सुशासनको दिशा तय गर्न सकिन्छ। यस प्रकार, प्रशासन सुधारका लागि समर्पण, समन्वय र सामूहिक प्रयासले राष्ट्रको समृद्धि र विकासमा टेवा पुर्याउन सक्छ।
प्रशासन सुधार र सार्वजनिक प्रशासनमा सकारात्मक रूपान्तरण ल्याउनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रशासनिक प्रणालीमा निष्ठा, आचरण, संस्कार, कार्यशैली र व्यवहारमा सुधार गर्नु हो। प्रशासनलाई स्वच्छ, पारदर्शी, नागरिकमैत्री, भ्रष्ट्राचारमुक्त र नैतिक बनाउनु आजको आवश्यकता हो। यस्ता गुणहरूलाई आफ्नो प्रशासनिक कर्तव्यको अंश बनाउने कार्य प्राथमिकता हुनुपर्छ। यसका लागि, शासकीय व्यवस्थापनका सबै तहका पात्रहरू बीच सहकार्य, संवाद र समन्वयको संस्कृति बनाउनु पर्छ, जसले नैतिक आधारलाई मजबुत पार्न मद्दत पुर्याउँछ।
नेपालमा देखिएको प्रशासनिक अवमूल्यनको मूल कारण यही नैतिक क्षय हो। नियुक्ति, सरुवा, ठेक्का र बजेटमा असमानता देखिनु केवल व्यवस्थापकीय समस्या होइन, यो आन्तरिक चेतनाको पतन हो। जब कर्मचारीको सोचमा ‘सेवा’ भन्दा ‘सुविधा’ प्रधान हुन्छ, त्यहाँ नागरिक र राष्ट्रको सम्बन्ध भङ्ग हुन्छ। समाजमा नीति र नियम त धेरै लेखिन्छन्, तर जब संस्कार र निष्ठा हराउँछन्, त्यस्ता नियमहरू केवल कागजमा सीमित रहन्छन्।
संस्कारयुक्त प्रशासनको पुनर्स्थापना कुनै तात्कालिक सुधार अभियान होइन; यो आत्म–क्रान्ति हो। कर्मयोगको सिद्धान्तले सिकाउँछ—कर्तव्य निष्काम हुनुपर्छ, परिणाम होइन, प्रक्रिया नै पवित्र हुनुपर्छ। जब प्रत्येक कर्मचारीले आफ्नो कुर्सीलाई सेवा–स्थान होइन, साधनाको मन्दिर मानेर काम गर्छ, तब मात्र प्रशासनिक प्रणालीमा आत्मा फर्किन्छ। नैतिक चेतना त्यही शक्ति हो जसले निर्णयलाई पारदर्शी बनाउँछ, अधिकारलाई मर्यादित गर्छ र उत्तरदायित्वलाई पवित्र बनाउँछ।
संस्कारयुक्त प्रशासनले ‘कर्तव्य’ र ‘करुणा’लाई एकै सूत्रमा बाँध्छ। यहाँ दया कमजोरी होइन, विवेकको सौन्दर्य हो; र अनुशासन दमन होइन, आत्म–नियन्त्रणको प्रतीक हो। यस्ता संस्कारहरू बिना राज्य केवल औपचारिक ढाँचा रहन्छ, जसमा जनता केवल कागजी अस्तित्व हुन्।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)