हेभिवेटको मैदान फेरबदलः २०८२ को चुनावमा पुराना अनुहार, नयाँ चुनौती - Chaitanya News
  • 2026-04-26
  • 22:33:39
  • आइतबार,बैशाख १३, २०८३
  • हेभिवेटको मैदान फेरबदलः २०८२ को चुनावमा पुराना अनुहार, नयाँ चुनौती

    हेभिवेटको मैदान फेरबदलः २०८२ को चुनावमा पुराना अनुहार, नयाँ चुनौती

    काठमाडौं– आगामी फमगुन २१ गतेका लागि ताकिएको  प्रतिनिधिसभा निर्वाचन–२०८२ ले नेपाली राजनीतिमा नेतृत्वको पुस्तान्तरण, शक्ति सन्तुलनको पुनर्संरचना र वैकल्पिक राजनीतिप्रतिको बढ्दो आकर्षणलाई एकैपटक उजागर गरेको छ। आज मंगलबार देशभर १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै गर्दा ठूला दलका हेभिवेट नेता मात्रै होइन, वैकल्पिक र स्वतन्त्र राजनीतिका अनुहार पनि निर्णायक मैदानमा उत्रिएका छन्।

    देउवाको बहिर्गमन, कांग्रेसभित्र नयाँ अध्याय;
    तीन दशकभन्दा बढी समय संसदीय राजनीतिमा सक्रिय नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन नलड्ने निर्णयले कांग्रेस राजनीतिमा एक युगको औपचारिक अन्त्य संकेत गरेको छ। २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर निर्वाचित देउवा यसपटक मैदान बाहिर बस्दा कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको बहस थप तीव्र बनेको छ।

    देउवाको अनुपस्थितिसँगै कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं–४ मा स्थापित राजनीतिक आधार त्यागेर मधेसको नयाँ भूगोल रोज्नुले थापाले पार्टीलाई राष्ट्रिय पुनर्संरचनाको सन्देश दिन खोजेको देखिन्छ।

    ओलीको झापा, बालेनको चुनौती:
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि झापा–५ बाटै चुनावी प्रतिस्पर्धामा छन्। तर यसपटकको झापा–५ केवल एमाले बनाम कांग्रेसको लडाइँ होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई ओलीविरुद्ध उभ्याउँदै चुनावलाई प्रतीकात्मक द्वन्द्वमा रूपान्तरण गरेको छ । स्थापित सत्ता बनाम वैकल्पिक विद्रोह।
    बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै रास्वपाले झापालाई राष्ट्रिय राजनीतिक विमर्शको केन्द्र बनाएको छ।

    प्रचण्ड र माओवादीको ‘जरा खोज्ने राजनीति’:
    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक माओवादी विद्रोहको उद्गमस्थल रूकुम पूर्व फर्किएका छन्। गोरखा–२ बाट सरेर ऐतिहासिक थलो रोज्नु उनको राजनीतिक पहिचान पुनःस्थापनाको प्रयासका रूपमा हेरिएको छ।
    माओवादी राजनीतिमै अर्को चाखलाग्दो नाम हो, रेणु दाहाल। भरतपुर महानगरको सफल कार्यकालपछि उनी चितवन–३ बाट संघीय राजनीतिमा प्रवेश गर्दैछिन्, जसले माओवादी नेतृत्वमा वंशीय राजनीति बनाम संस्थागत उत्तराधिकारको बहसलाई पुनर्जीवित गरेको छ।

    रवि, हर्क, कुलमानः सत्ताबाहिरका शक्ति केन्द्र:
    रवि लामिछाने (चितवन–२), हर्क साम्पाङ (सुनसरी–१) र कुलमान घिसिङ (काठमाडौं–३) जस्ता अनुहारहरूले यो निर्वाचनलाई परम्परागत दलको सीमाभन्दा बाहिर लैजाने संकेत गरेका छन्। रवि लामिछाने लगातार तेस्रोपटक चितवन–२ बाट मैदानमा छन्, रास्वपाको जनाधार अझै बलियो छ।

    हर्क साम्पाङले धरानको मेयर पद त्यागेर श्रम संस्कृति पार्टीमार्फत संघीय राजनीतिमा प्रवेश गरेका छन्। कुलमान घिसिङको उम्मेदवारीले ‘प्राविधिक दक्षता बनाम दलगत राजनीति’ को बहसलाई संसदसम्म पुर्‍याउने सम्भावना देखिएको छ।

    पुराना प्रतिस्पर्धा, नयाँ समीकरण:
    डा.बाबुराम भट्टराई गोरखा–२ बाट पुनरागमन गर्दैछन्। एमाले, कांग्रेस, नेकपा, रास्वपा सबैको भीड रहेको यो क्षेत्र २०८२ को सबैभन्दा प्रतिस्पर्धी निर्वाचन क्षेत्रमध्ये एक बन्ने निश्चित छ। त्यसैगरी,राप्रपाका राजेन्द्र लिङ्देन झापा–३ मा,कमल थापा काठमाडौं–५ मा,एमाले महासचिव शंकर पोखरेल दाङ–२ मा, महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ मा उम्मेदवारी दर्ता गराएका छन्।

    चुनाव मात्र होइन, दिशा निर्धारण:
    २०८२ को प्रतिनिधिसभा निर्वाचन सत्ता परिवर्तनको मात्रै प्रश्न होइन। यो चुनावले नेपाली लोकतन्त्र कुन दिशामा जान्छ परम्परागत दलको पुनरुत्थान, वा वैकल्पिक राजनीतिप्रतिको निर्णायक मोड भन्ने प्रश्नको जवाफ दिनेछ।
    नेतृत्व परिवर्तन, पुस्तान्तरण, र जनआकांक्षाको परीक्षा,यी सबैको संगम यही निर्वाचन हो।