काठमाडौँ– रास्वपा सभापति रवि लामिछानेले आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी गरेका छन्।
आज (सोमबार) जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने जिकिर गरे।
‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ। अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु,’ उनले भने।
आफू प्रत्येक दिन मेरो टाउकोमा लागेको मुद्दाका कारण कुनै न कुनै अदालतमा जानुपरेको भन्दै गुनासो गरे।
‘प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाका कारण कुनै न कुनै अदालतमा उपस्थित हुनुपर्छ। मलाई प्रवाह छैन, जनताको मुद्दा बोकेर हिँडेको मान्छे त्यस्ता मुद्दा लड्दै गरौँला। जित्दै गरौँला। हारे हारिन्छ जिते जितिन्छ,’ लामिछानेले भने।