स्मार्ट नेपाल निर्माणमा विज्ञान र प्रविधिको योगदान     - Chaitanya News
  • 2026-04-30
  • 07:37:02
  • बिहिबार,बैशाख १७, २०८३
  • स्मार्ट नेपाल निर्माणमा विज्ञान र प्रविधिको योगदान    

    स्मार्ट नेपाल निर्माणमा विज्ञान र प्रविधिको योगदान    

    तोमनाथ उप्रेती:

    आजको युग विज्ञान र प्रविधिको युग हो, जसले मुलुकको समृद्धि, आर्थिक विकास र सामाजिक सुधारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। विज्ञान र प्रविधि एकआपसमा सम्बन्धित छन्—जहाँ विज्ञानले नयाँ प्रविधिको विकासमा मार्गदर्शन गर्दछ भने प्रविधिले विज्ञान शिक्षालाई अझ सशक्त बनाउँछ। विश्वका विकसित राष्ट्रहरूले विज्ञान र प्रविधिमा विशेष जोड दिँदै आफ्नो सामाजिक तथा आर्थिक प्रगति सुनिश्चित गरेका छन्। यसैप्रति नेपाल जस्ता विकासोन्मुख मुलुकले पनि आफ्ना स्रोत र क्षमता अनुसार यो क्षेत्रमा ठूलो फड्को मार्न आवश्यक छ।

    स्टीम शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) एकीकृत र व्यावहारिक शिक्षण विधि हो, जसले विद्यार्थीहरूलाई सिर्जनशीलता, आलोचनात्मक सोच, समस्या समाधान क्षमता र समूहमा काम गर्ने सीपहरू विकास गर्न सहयोग पुर्‍याउँछ। यस शिक्षाले युवालाई नवप्रवर्तन र अनुसन्धानमा प्रोत्साहित गरी समाज र अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउन सक्षम बनाउँछ।

    नेपालमा विज्ञान र प्रविधिको विकासका प्रयासहरू भए तापनि पर्याप्त छैनन्। अवस्थित पूर्वाधार, नीति–नियम, जनचेतना र शिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ। बालबालिकामा प्रारम्भिक स्तरबाटै विज्ञान र प्रविधिको महत्वबारे सचेतना फैलाउनु, व्यावहारिक शिक्षा प्रवर्द्धन गर्नु र आधुनिक उपकरण तथा प्रविधिको पहुँच विस्तार गर्नु राष्ट्रको दीगो विकासका लागि अपरिहार्य छ।

    वर्तमान समयमा नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय जनशक्ति उत्पादन भएको अवस्था छ। बहुदलीय व्यवस्था र लोकतन्त्रको पुनर्स्थापनपश्चात् राज्यले अवलम्बन गरेको नीति तथा कार्यक्रमका माध्यमबाट विज्ञान र प्रविधि सम्बन्धी कलेज र अध्ययन संस्थानहरू स्थापना भएका छन्। चिकित्सा, ईन्जिनियरिङ, जलविद्युत, जैविक विविधता संरक्षण, मत्स्यपालन तथा सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा नेपालमा उत्पादित विशेषज्ञहरू देशभित्र र विदेशमा सक्रिय छन्। टेस्ट ट्यूब बेबी, जटिल शल्यक्रिया र आँखाको उपचार जस्ता सेवाहरूले नेपाली स्वास्थ्य क्षेत्रमा प्रगतिका स्पष्ट उदाहरण प्रस्तुत गरेका छन्।

    विज्ञान र प्रविधिको विकासले सामाजिक वातावरण, राजनीतिक स्थायित्व र नीति–निर्माणसँग सम्बन्ध राख्दछ। प्रभावकारी अनुसन्धान, पर्याप्त बजेट र राज्यको सहयोग बिना यस क्षेत्रको दिगो विकास सम्भव छैन। विज्ञान सत्यको खोजी हो र यसको उचित उपयोगले मानव जीवन सहज र सरल बनाउँछ। विकसित राष्ट्रहरूले अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिएर आफ्नो आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गरेका छन्। नेपालले पनि आफ्ना स्रोत र जनशक्तिको उपयोग गरी विज्ञान र प्रविधिमा प्रगतिशील नीतिहरू अवलम्बन गर्दा देशलाई आर्थिक समृद्धि र सामाजिक विकासतर्फ अघि बढाउन सक्नेछ।

    अहिले विश्व २१ औं शताब्दीमा दौडिरहेको छ। अहिलेको समयलाई सूचना प्रविधिको युगको रुपमा लिने गरिन्छ । सूचनाको संकलन, सम्प्रेषण एवं सञ्चार गर्ने पत्रपत्रिका, कम्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको समष्टिगत रूपलाई नै सूचना तथा सञ्चार प्रविधि भनिन्छ। अहिलेका पुस्ताहरूको अधिकांश समय मोवाइल, ल्यापटप वा कम्युटरको स्क्रिनमा हेरेर बित्दछ। चाहे कसैले पढून्, कसैले गेम खेलून्, कसैले भिडियो हेरून्। अहिले सबै काम इन्टरनेटबाट नै हुने गर्दछ। चाहे त्यो साथीहरू, आफन्तसँग कुरा गर्न होस्, चाहे कुनै कार्यालयको काम होस्, सबै मोवाइल र ल्यापटपबाट नै गरेको पाइन्छ। प्रविधिको प्रयोगले एक दिनमा हुने काम एकछिनमा नै हुने गर्दछ। त्यस्तै विज्ञान र प्रविधिले विकास गरेको फेसबुक, युट्युव हाम्रो दैनिक बनिसकेका छन् भने ट्वीटर, इन्स्टाग्राम, भाइबर, इमो, टिकटक पनि विज्ञान प्रविधिको विकासको वर्तमान नमुनाहरू हुन्।

    सन् १९८० को दशक यता विश्वमा सूचना तथा सञ्चार प्रविधिको युग सुरु भएको मानिन्छ र यससँगै विकसित देशका अर्थतन्त्र प्रविधिमा आधारित अर्थतन्त्रका रूपमा रूपान्तरण भएका छन्। मानव मस्तिष्कको उच्चतम प्रयोग र अथक परिश्रमको प्रतिफल विज्ञान र प्रविधिको विकास तथा विस्तार अहिलेको अवस्थासम्म आइपुगेको छ। यसरी हेर्ने हो भने विज्ञान र प्रविधिको विकास साथै सयौँ वैज्ञानिक, अन्वेषक, इन्जिनियर, सफ्टवेयर डेभलपर्स आदिका निरन्तर खोज, अध्ययन र अनुसन्धानका कारण विश्वले प्रथम औद्योगिक क्रान्तिदेखि सूचना तथा सञ्चार प्रविधिको युगसम्मको यात्रा तय गर्न सफल भएको छ। विगतमा कल्पनासम्म नगरिएका विषय वर्तमानमा आएर सफल र सिद्धि भएका छन्।

    प्रविधिले अध्ययन, अनुसन्धानमा ल्याएको ब्यापक परिवर्तनका कारण मानिसको जीवनमा सिर्जनशीलता र बौद्धिकताको ब्यापक विस्तार गर्नसमेत मद्दत पुर्याएको छ। वास्तवमा प्रविधि मानव जीवनको अत्यधिक सिर्जनात्मक प्रयोग हो भने यसलाई विज्ञानको सर्वोत्कृष्ट नतिजा पनि मान्न सकिन्छ।

    विगत चार दशकदेखि चलिरहेको प्राविधिक क्रान्तिलाई विभिन्न नाम दिइएको छ, जस्तैः वैज्ञानिक–प्राविधिक क्रान्ति, नव–प्राविधिक क्रान्ति, तेस्रो प्राविधिक क्रान्ति, इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक क्रान्ति इत्यादि। यी सबैमा वैज्ञानिक प्राविधिक क्रान्ति सबैभन्दा उपयुक्त नाम प्रतीत हुन्छ किनभने यसबाट विज्ञान तथा प्रविधि दुबै क्षेत्रहरूमा भइरहेका सबै परिवर्तनहरूको प्रतिनिधित्व हुन्छ। यो बुझ्नु अत्यन्तै महत्वपूर्ण छ कि आज चलिरहेको वैज्ञानिक–प्राविधिक क्रान्ति औद्योगिक कालका परिवर्तनहरूभन्दा गुणात्मक रूपले भिन्न

    आमरूपमा मानिसहरू वर्तमान प्राविधिक क्रान्तिलाई औद्योगिक क्रान्तिकै एउटा विकसित रूप, त्यसको उच्च चरण मान्दछन् र त्यसैकारण त्यसमा उनीहरू कुनै विशेष नयाँ कुरा देख्दैनन्। हाम्रो बुझाइमा यो एउटा ठूलो गल्ती हो।

    नव–प्राविधिक क्रान्ति मुख्य रूपले परमाणुभित्रका शक्तिहरूमाथि, उदाहरणको लागि इलेक्ट्रोनको गति तथा अन्य प्रकारका क्वान्टम शक्तिको उपयोगमाथि आधारित छ। इलेक्ट्रोन शक्तिको प्रयोगमाथि आधारित प्रविधिलाई इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक प्रविधि भनिन्छ। यसप्रकार यो त्यस औद्योगिक क्रान्तिभन्दा गुणात्मक रूपले भिन्न छ, जसले बाफ र विद्युतको शक्तिको प्रयोग गर्दथ्यो। वर्तमान क्रान्तिलाई कम्प्युटर क्रान्ति पनि भनिन्छ।

    विज्ञान र प्रविधिको विकास र विस्तारका लागि विश्व आज प्रतिस्पर्धात्मक रूपमा अघि बढेको छ ।आजको युग नै विज्ञान र प्रविधिको हो । यी क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँनयाँ आविष्कारहरू भइरहेका छन् । त्यसो त मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको विकास गरेको पाइन्छ ।तर पनि केही दशकयता यस क्षेत्रमा भएका विकास, विस्तार र यसको उपयोगिताले मानव जीवन सहज र सरल बन्दै गएको कुरा साँचो हो । विज्ञान तथा प्रविधिलाई विश्वको विकास र समृद्धिको मेरूदण्ड मान्नुपर्छ । विज्ञान र प्रविधिविनाको जीवन अधुरो र अपूरो बन्न पुगेको छ ।अहिले विश्व परिवेश हेर्ने हो भने जुन मुलुकले सबैभन्दा बढी विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकेको छ, त्यही मुलुक नै अग्रणि बन्दै गइरहेको छ । जसको ज्वलन्त उदाहरणको रूपमा हामी सयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनलाई लिन सक्दछौं ।

    विज्ञान र प्रविधिलाई सदुपयोग गर्न सक्दा देशको औद्योगिक विकास हुन गई धेरैलाई रोजगार दिन सकिन्छ, युवावर्गको उचित व्यवस्थापन हुन सक्छ र समुन्नत नेपाल बनाउने दिशामा अघि बढ्न सकिन्छ। विज्ञान र प्रविधिको उचित प्रयोगले नै राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महìव बुझाउन हाम्रो विद्यालय पाठ्यक्रममा आवश्यक परिमार्जनसहित समावेश गरिनु आवश्यक छ। तदनुरूप उच्च शिक्षामा पनि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिने हिसाबले पाठ्यक्रमको समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ।

    कुनै पनि देशको विकास हुन त्यहाँका जनता आफै जाग्नुपर्ने हुन्छ । जनता आफै जागे भने देशको विकास हुन कठिन हुँदैन । उदाहरणका लागि फ्रान्स, बेल्जियम, हल्यान्डजस्ता देशमा त्यहाँको पुनर्निर्माण युगताका जनतामा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशिइरहेका छन्। त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्छ र अधिकतम मानव संसाधन प्रयोग गर्नुपर्छ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिन र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरुरी छ । देशको आर्थिक, सामाजिक रूपान्तरण गरी समुन्नत नेपाल बनाउने कुरा सारा नेपालीको राष्ट्रिय संकल्प बन्न सक्नुपर्छ। सामाजिक, राजनीतिक हिसाबले समृद्धिको बाहकका रूपमा हामी सबैले आफूलाई उभ्याउन आवश्यक छ । राजनीतिक पार्टीहरूले अझ गहिराइका साथ विज्ञान, प्रविधि र नवप्रवर्तनलाई अँगाल्नुपर्छ । यस कार्यका लागि विषयविज्ञका विचार लिई उनीहरूका साथमा बसेर देश विकासको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सक्नेछौ ।

    नेपालको दीगो आर्थिक विकास र समग्र प्रगतिका लागि विज्ञान र प्रविधिको महत्व अत्यन्तै बढी छ। विश्व तीव्र गतिमा प्राविधिक विकासतर्फ उन्मुख हुँदै गएको छ, जहाँ नयाँ–नवीन आविष्कार, डिजिटल प्रणाली र स्मार्ट प्रविधिहरूले सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रलाई पुनःपरिभाषित गर्दै छन्। यस्ता प्रविधिहरूको उपयोगले केवल उत्पादनशीलता र दक्षता वृद्धि गर्ने मात्र नभई जनजीवनमा सहजता, पारदर्शिता र नवप्रवर्तनको मार्ग पनि खोल्दछ।

    स्मार्ट नेपाल निर्माणको दृष्टिकोणमा विज्ञान र प्रविधिको योगदान बहुआयामिक छ। पहिलो, शिक्षा र ज्ञानको क्षेत्रमा सूचना–प्रविधिले महत्वपूर्ण भूमिका खेलिरहेको छ। डिजिटल शिक्षण प्रणाली, अनलाइन स्रोतहरू र ई–लर्निङ प्लेटफर्महरूले ग्रामीण र दुर्गम क्षेत्रसम्म ज्ञानको पहुँच पुर्‍याइरहेका छन्। यसले समाजको सामूहिक साक्षरता र मानव स्रोतको गुणस्तर सुधार गर्नेछ, जुन दीगो आर्थिक विकासको मूल आधार हो।दोस्रो, प्रशासनिक क्षेत्रलाई प्रविधिले स्मार्ट र पारदर्शी बनाउँदैछ। ई–गभर्नन्स, डिजिटल भुक्तानी प्रणाली, डेटा–आधारित निर्णयप्रणाली र स्मार्ट प्रशासनिक मोडेलहरूले भ्रष्टाचार घटाउन, सेवा प्रवाह छरितो बनाउन र जनताको सरकारी सेवाप्रति विश्वास बढाउन सहयोग पुर्‍याइरहेका छन्। यसले दीगो विकास र सुशासनको मार्ग तयार पार्दछ।तेस्रो, अर्थतन्त्र र उद्यमशीलतामा विज्ञान र प्रविधिको प्रयोगले नयाँ अवसरहरू सिर्जना गरेको छ। कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य र सूचना–प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्मार्ट उपकरण र डिजिटल मार्केटिङले उत्पादन वृद्धि, लगानी आकर्षण र रोजगारी सृजना गर्न मद्दत गरिरहेको छ। विशेषगरी कृषि क्षेत्रमा स्मार्ट सिँचाइ, मौसम पूर्वानुमान र डिजिटल बजार प्रणालीले किसानको आय सुधार गर्दै देशको खाद्य सुरक्षा सुदृढ बनाउँछ।चौथो, सामाजिक संरचना र जीवनस्तर सुधारमा प्रविधिको योगदान उल्लेखनीय छ। स्वास्थ्य सेवा, यातायात, सञ्चार र आपत्कालीन व्यवस्थापनमा स्मार्ट प्रणालीहरूको प्रयोगले जीवन सहज र सुरक्षित बनाउँछ। दूरसञ्चार र डिजिटल सेवा पहुँचले ग्रामीण क्षेत्रका नागरिकलाई समेत आधुनिक सुविधासम्म जोडेको छ, जसले सामाजिक समानता र समावेशी विकासमा मद्दत पुर्‍याउँछ।

    वर्तमान एक्काइसौँ शताब्दीमा विज्ञान–प्रविध क्रान्तिले ठूलो उथलपुथल लिएर आएको छ । यसबाट हामी सम्पुर्ण मानवजाति लाभान्वित हुनुपर्दछ र समग्र विश्वको विकासको लागि तप्पर हुनुपर्दछ अनि वर्तमान वैज्ञानिक–प्राविधिक क्रान्तिलाई निरन्तरता दिनुपर्दछ । तबमात्र विज्ञान र प्रविधिको विकासले व्यापकता पाउँछ, जसवाट विकास र समृद्धिको रुपान्तरणमा  समेत टेवा पुग्दछ । विज्ञान र प्रविधि स्मार्ट नेपाल निर्माणको मूल स्तम्भ हुन्। यसले शिक्षा, प्रशासन, अर्थतन्त्र र सामाजिक जीवनमा नवप्रवर्तन ल्याइरहेको छ। दीगो आर्थिक विकास, सामाजिक समृद्धि र सुव्यवस्थित प्रशासनको लागि यसको उपयोग अपरिहार्य छ। यदि नीति–नियमन र जनसहभागितामा बल दिइयो भने नेपाल केवल आधुनिक राष्ट्र नभई, एक स्मार्ट, समावेशी र दिगो राष्ट्रको रूपमा विश्वमञ्चमा प्रस्तुत हुन सक्छ।

    स्मार्ट नेपाल निर्माणका लागि विज्ञान र प्रविधिको योगदान अपरिहार्य छ। शिक्षा, स्वास्थ्य, ऊर्जा, सञ्चार र प्रशासन जस्ता क्षेत्रमा यसको प्रभावले समाजलाई दिगो विकासतर्फ उन्मुख बनाउँछ। स्टीम शिक्षा, नवप्रवर्तन र अनुसन्धानमार्फत युवा शक्ति सक्षम हुँदै आर्थिक वृद्धिमा योगदान पुर्याउँछ। विज्ञान र प्रविधिको प्रयोगले मात्र आर्थिक समृद्धि होइन, सामाजिक समानता, प्रशासनिक पारदर्शिता र जीवनस्तर उन्नति सुनिश्चित हुन्छ। नेपालको प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र मानव क्षमतासँग मेल खाँदै वैज्ञानिक र प्राविधिक विकासलाई प्राथमिकता दिँदा मात्र देशले स्मार्ट, समृद्ध र दिगो राष्ट्रको लक्ष्य हासिल गर्न सक्छ। (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरंगका प्रमुख कोष नियन्त्रक हुन्। )