निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार ८७७ जनाको आवेदन, ३६ जिल्लामा मागे भन्दा कम - Chaitanya News
  • 2026-05-05
  • 17:27:50
  • मंगलबार,बैशाख २२, २०८३
  • निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार ८७७ जनाको आवेदन, ३६ जिल्लामा मागे भन्दा कम

    निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार ८७७ जनाको आवेदन, ३६ जिल्लामा मागे भन्दा कम

    काठमाडौं– निर्वाचन प्रहरीका लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका हुन्।

    देशभरबाट नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि माग गरिएको थियो। सो क्रममा एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिए। ३६ जिल्लामा भने माग भन्दा कम आवेदन परेको डीआईजी काफ्लेले बताए।

    उनका अनुसार कम आवेदन परेका ३६ जिल्लामा पुनः २ दिन म्याद थप गरेर आवेदन माग गरिएको छ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि २४ पुसमा आवेदन खुलाइएको थियो। हिजो बिहीबारसम्म आवेदन दिने अन्तिम मिति थियो।

    यता, सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षा प्रहरीका लागि छुट्टै भर्ना आह्वा गरेर अहिले आवेदन लिइरहेको छ।

    निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने बताइएको छ।

    यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक रूपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउने छन्।