पूर्णबहादुर खड्काले भने: विशेष महाधिवेशनको भेला हुनुभन्दा अगाडि र पछाडिको दुवै समयको हस्ताक्षर सुरक्षित छ - Chaitanya News
  • 2026-05-05
  • 17:27:50
  • मंगलबार,बैशाख २२, २०८३
  • पूर्णबहादुर खड्काले भने: विशेष महाधिवेशनको भेला हुनुभन्दा अगाडि र पछाडिको दुवै समयको हस्ताक्षर सुरक्षित छ

    पूर्णबहादुर खड्काले भने: विशेष महाधिवेशनको भेला हुनुभन्दा अगाडि र पछाडिको दुवै समयको हस्ताक्षर सुरक्षित छ

    काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८ सय ८५ जना प्रतिनिधिहरूले आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गरेका छन्।

    (शुक्रबार) निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न पुगेका खड्काले विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत प्रतिनिधिको समर्थन रहेको दाबी गरे पनि ठूलो संख्यामा हस्ताक्षरकर्ताहरू त्यसबाट अलग भएको बताए। हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको पत्र पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिवमार्फत आफूलाई सम्बोधन गरेर बुझाएको उनले जानकारी दिए।

    कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको भेला हुनुभन्दा अगाडि र पछाडिको दुवै समयको हस्ताक्षर आफूहरूसँग सुरक्षित रहेको उल्लेख गरे। विशेष महाधिवेशनमा सहभागी भनिएकाहरूले नै उक्त प्रक्रियाबाट बाहिरिएको स्पष्ट पारेको भन्दै उनले विपक्षी समूहको दाबीलाई चुनौती दिए। नियमित महाधिवेशनको पक्षमा रहेका खड्काले विधानसम्मत प्रक्रियाबाटै अघि बढ्ने अडान राख्दै निर्वाचन आयोगमा आधिकारिकताका लागि आवश्यक प्रमाणहरू पेश गरेका छन्।

    पार्टीभित्रको विवाद चुलिँदै जाँदा गगन थापा नेतृत्वको समूहले भने विशेष महाधिवेशन सम्पन्न गरी नयाँ केन्द्रीय कार्यसमिति समेत चयन गरिसकेको छ। संस्थापन पक्षले उक्त महाधिवेशन र त्यसबाट चुनिएको समितिलाई अवैध भन्दै आएको छ भने ८ सय ८५ जनाले हस्ताक्षर फिर्ता लिएको पछिल्लो दाबीले विवादलाई नयाँ मोड दिएको छ। निर्वाचन आयोगले दुवै पक्षका दाबी र प्रमाणहरूको अध्ययन गरेपछि मात्र नेपाली कांग्रेसको आधिकारिकताका बारेमा अन्तिम निर्णय लिने देखिन्छ।