काठमाडौँ– नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ टिकट वितरण गर्दा आफूले हस्ताक्षर नगर्ने विषयमा लचिलो बनेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्। आज (बुधबार) देउवा र महामन्त्रीद्वयबीचको भेटवार्ताबारे ब्रिफिङ गर्दै उनले सो जानकारी दिएका हुन्।
महतले पत्रकारहरुसँग कुराकानी गर्दै टिकटमा हस्ताक्षर गर्नु ठूलो कुरा नभएको बताए। देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘समानुपातिकमा सबैको छलफलमै सूची पठाइएको छ। पार्टी एकता मेरालागि महत्वपूर्ण हो। मेरो हस्ताक्षर महत्वपूर्ण होइन। कुन नेतालाई दिनुपर्छ निर्णय गरेर दिन तयार छु।’
उनले थपे, ‘मसँग भएको त्यही एउटा टिकटको हस्ताक्षरको अधिकार पनि फिर्ता लिन्छु भन्दा उहाँहरूले सुन्नुभो। संरक्षक भएर बस्नुस् भन्नुभयो। आखिर उहाँ संरक्षक जत्तिकै त हो नि। हस्ताक्षर पनि फिर्ता लिन तयार छु भनेपछि के चाहिँ बाँकी रह्यो र।’
यसबारे केन्द्रीय समितिमा ब्रिफिङ हुने महतको भनाइ छ।‘ नेताहरूले के भन्नुहुन्छ। त्यसको आधारमा निर्णय हुन्छ,’ उनले भने।
महतका अनुसार देउवाले आफूलाई चुनावमा भाग लिन नदिन खोजेको हो भनेर सोधेका थिए। महामन्त्रीद्वयले त्यस्तो आशय नभएको प्रस्ट्याएका छन्।
‘मलाई यो चुनाव नलड भनेको हो ? भनेर सोध्नुहुँदा महामन्त्रीहरूले त्यो त भनेको हैन भन्नुभयो उहाँहरूले,’ उनले सुनाए।