काठमाडौँ– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन्।
आज (सोमबार) निर्वाचन आयोगले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताएका हुन् ।निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने उनले जानकारी दिए।
उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनलाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताए।
विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन? भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म हुने गरेको उल्लेख गर्नुहुँदै उनले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमा नै निर्वाचन हुने बताए।
निर्वाचन आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गरिसकेको उनले जानकारी दिए।
सरकार र सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिएकोले यस विषयमा अब शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
उनले विगतमा पनि निर्वाचन बिथोल्ने शक्ति र हतियार बाहिर भएको अवस्थामा पनि निर्वाचन गराएको स्मरण गरे। अहिले त्यस्तो गम्भीर खतरा आयोगले महसुस नगरेको उनको भनाइ छ। उनले निर्वाचनको व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम आयोगले सम्पन्न गरेको पनि जानकारी दिए।
हाल राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष तहको गरी ३ किसिमका निर्वाचनमा आयोग एकसाथ लागेको उनको भनाइ छ।
उनले द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन गराएर लोकतान्त्रिक बाटोमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।