काठमाडौँ– नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले संगठनको विकास र सुदृढीकरणका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताएका छन्।
आज (बिहीवार) प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता र अनुशासनका साथ नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन्।
यस्तै, महानिरीक्षक कार्कीले आगामी निर्वाचनको सुरक्षासम्बन्धी संवेदनशीलता, समसामयिक विषयवस्तु तथा प्रहरी गतिविधि र कामकाज सम्बन्धमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
उनी भन्छन्, “सुरक्षा चुनौतीहरूको सामना गर्न प्रभावकारी रणनीति बनाएर कुनै पनि अपराध विरुद्ध कडा कदम चाल्नुपर्छ। प्रत्येक प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरूपमा बहन गर्नुपर्छ।”
महानिरीक्षक कार्कीले पारदर्शी र बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्दै थप सक्रियताका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। साथै, भिड नियन्त्रणका क्रममा बल प्रयोगको सिद्धान्त पालन गर्न र सवारी दुर्घटना न्यूनीकरणमा समेत सक्रिय हुन आवश्यक रहेको उल्लेख गरे।