काठमाडौँ– गृह मन्त्रालयले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेको छ।
आज (बुधबार) निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले जानकारी दिए।
निर्वाचन प्रहरीका लागी नेपाल प्रहरी र सशस्त्रले माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति दिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेका हुन्। स्वीकृत मापदण्ड अनुसार ४० दिनका लागी निर्वाचन प्रहरी भर्ना गरिनेछ।
अर्थ मन्त्रालयले निर्वाचन प्रहरी भर्ना गर्न ७ अर्ब १३ करोड बजेटको स्रोत सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयको प्रदान गरेको बजेट अनुसार १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिने प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए। निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गर्नेगरी प्रहरी प्रधान कार्यालयले छिट्टै दरखास्त आह्वान गर्ने गृह प्रवक्ता काफ्लेले जानकारी दिए।
४० दिन निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरीले प्रहरी जवान बराबर तलब र रासन सुविधा पाउँछन् यसपटक निर्वाचन प्रहरीले छुट्टै भत्ता पाउँदैनन्।
सशस्त्र प्रहरीलाई १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेट अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ। सशस्त्रले पहिलो पटक निर्वाचन प्रहरी भर्ना गर्दैछ। सशस्त्रले भर्ना गर्ने निर्वाचन प्रहरीले पनि ४० दिन काम गर्नेछन्। उनीहरुले पनि सशस्त्र प्रहरीका जवान सरह तलब र रासन सुविधा पाउँछन्।
नेपाल प्रहरीले १ लाख ३६ हजार ८११ जना निर्वाचन प्रहरी भर्ना गर्न अनुमति मागेको थियो। तर, अर्थ मन्त्रालयले करिब ३ हजार सङ्ख्या घटाएर बजेट दिएको हो। केन्द्रीय सुरक्षा समितिले ३० कात्तिकमा निर्वाचनका लागि १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरेको थियो। प्रहरी प्रधान कार्यालयले सुरक्षा चुनौतिको कारण थप सङ्ख्या आवश्यक रहेको प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको थियो।