काठमाडौँ– निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दै छ। तेसका लागि आज (बुधबार) देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। यस्तै, हिजो (मंगलबार) मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मत भार सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्।