काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र काँग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
आज (मंगलबार) च्यासलमा जारी सचिवालय बैठकमा बोल्दै ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनी नसकेको बताए।
उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिइँदै छ। यसले लोकतान्त्रिक मूल्य(मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।’
नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको भन्दै वैदेशिक हस्तक्षेप नांगो रूपमा देखिन थालेको बताएका छन्।
उनले पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढंगले अघि बढाउनुपर्ने बताए। प्रत्येक तहमा युवाको सक्रिय परिचालन गर्दै टोल(टोलमा नेसनल युथ भोलेन्टियर फोर्स गठन गर्नुपर्ने र निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने बताएका छन्।