काठमाडौं– काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो।
यो काठमाडौंमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम भएक्ँै महाशाखाका मौसमविदहरुले बताए। काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्युनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।
काठमाडौंको तुलनामा ललितपुरको सानेपा क्षेत्रको न्यूनतम तापक्रम झन् कम छ। मौसमविद उज्ज्वल उपाध्यायका अनुसार आज बिहान सानेपा क्षेत्रको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको छ। यो अघिल्लो दिनको तुलनामा ०.५ डिग्री सेल्सियसले कम हो।
काठमाडौं उपत्यकामा अहिले भने घाम लागेकाले केही न्यानो महसुस भएको छ। तर मौसमविदहरुका अनुसार केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो छ।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो। आइतबार ४ र सोमबार ३.५ डिग्री सेल्सियस मापन भएको थियो। नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ।
मौसमविद डेभिड ढकालका अनुसार काठमाडौं उपत्यकामा आज यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो। उनका अनुसार काठमाडौंमा जनवरी ६ तारिक अर्थात आजको सरदर न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस हो।
न्यूनतम तापक्रममा केही दिनयता लगातार डिरावट आए पनि अधिकतम तापक्रममा भने खासै ठूलो उतारचढाव नआएको मौसमविद ढकालले बताए। तराई–मधेशका जिल्लामा हिजो घाम लागेका कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको थियो। तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु लाग्ने र मध्याह्नपछि खुल्दै जाने गरेको छ। तराईरमधेशमा हुस्सु केही दिन अवस्था यस्तै रहने सम्भावना रहेको मौसमविद ढकालले बताए।