आईसीसी टी– २० विश्वकप ट्रफी पोखरा लगिँदै, त्यसपछि वसन्तपुर र बौद्धमा प्रदर्शन - Chaitanya News
  • 2026-07-24
  • 21:29:29
  • शुक्रबार,साउन ०८, २०८३
  • आईसीसी टी– २० विश्वकप ट्रफी पोखरा लगिँदै, त्यसपछि वसन्तपुर र बौद्धमा प्रदर्शन

    आईसीसी टी– २० विश्वकप ट्रफी पोखरा लगिँदै, त्यसपछि वसन्तपुर र बौद्धमा प्रदर्शन

    काठमाडौं– आईसीसी टी– २० विश्वकप ट्रफी टुरअन्तर्गत नेपाल ल्याइएको ट्रफी पोखरा पनि लगिने भएको छ। ट्रफी मंगलबार बिहान पोखरामा फोटोसुट र स्थानीय आउटरिच कार्यक्रम हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    त्यसपछि भोलि नै काठमाडौं फिर्ता ल्याएर वसन्तपुरमा प्रदर्शनीमा राखिनेछ भने बुधबार बौद्धमा पनि प्रदर्शन हुनेछ।

    त्यस्तै भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी आज शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, पुरुष टिमका कप्तान रोहित पौडेल, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रूपमा ट्रफी अनावरण गरे।

    पुरुष तथा महिला क्रिकेट टिमका कप्तान, प्रशिक्षक तथा क्यानका पदाधिकारी समेतको उपस्थितिमा ट्रफी अनावरण गरिएको थियो।

    ट्रफी टुर जनवरी ७ सम्म आयोजना हुनेछ। टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन्।

    नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो। त्यतिबेला पनि काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो। टी–२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याइएको हो।

    डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर जारी छ।