काठमाडौँ– आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल अन्तिम चरणमा पुगेको छ।
जेनजी विद्रोहका कारण सत्ता गुमाएका कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचन, संसद् पुनर्स्थापना नभए फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल र सहकार्य गर्ने विषयमा निरन्तर छलफलमा छन्।
पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी समेत चुनावी तालमेल र सहकार्यको विषयमा सहभागी भएको स्रोतको दाबी छ। कांग्रेस उच्च स्रोतका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई समेत सहभागी गराउने विषयमा लगभग सहमति नजिक पुगेको छ। सोमबार साँझसम्म भागबन्डा टुङ्गो लगाउने गरी दोस्रो तहका नेताहरू सक्रिय भएको बुझिएको छ।
‘राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेल गर्ने विषयमा सहमति नजिक पुगेको छ। आज साँझसम्म टुङ्गो लाग्ला। तीन दलबिच चुनावी तालमेल गर्ने विषयमा कार्यवाहक सभापतिजीले छलफल गरिरहनुभएको छ’, स्रोतले भन्यो।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली एकता समाज भारतले आयोजना गरेको एकता सभा कार्यक्रममा भाग लिन अहिले नयाँ दिल्लीमा रहेका छन् । प्रचण्डले भारत जानु अगाडि एमालेका अध्यक्ष केपी ओलीसँग करिब आधा घण्टा छलफल गरेका थिए।
रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक समेत रहेका कुलमान घिसिङ एकजुट भएपछि कांग्रेस, एमाले र नेकपा दबाबमा रहेका छन् । पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गरी देउवा, ओली र प्रचण्ड नजिकिएका हुन् ।