काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले २१ फागुनमा जसरी पनि चुनाव हुने बताएका छन्। आज (शुक्रबार) चितवनको भरतपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खरेलले राम्रो, निष्पक्ष र धाँधलीरहित चुनाव हुने बताएका हुन्।
उनले भने, ‘जनस्तरदेखि मिडियासम्म, प्रश्नदेखि जवाफसम्म सबै चुनावमा केन्द्रित भइरहेको छ। अब पनि चुनाव हुन्छ हुँदैन भन्ने कुरामा तपाईँहरूलाई द्विविधा छ र ? सम्भवतः द्विविधा छैन। यहाँहरूलाई म भन्न चाहन्छु २१ फागुनमा जसरी पनि चुनाव हुन्छ। जसरी भनेको राम्रो, निष्पक्ष र धाँधलीरहित चुनाव हुन्छ।’ मन्त्री खरेलले निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको सुनाए।
२१ फागुनमै चुनाव हुने सबैभन्दा पछिल्लो आधार भनेको ६४ वटाभन्दा बढी दलले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउने काम भइसकेको उनले बताए।
उनले भने, ‘प्रमुख राजनीतिक दल सबैले बुझाइसके। १० लाखभन्दा बढी नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता भइसकेको छ। सुरक्षा निकायमा नयाँ नेतृत्व प्रहरीमा आइसकेर उसको मनोबल उच्च भइसकेको छ। सरकारले स्रोत, साधन, जनशक्ति जति चाहिन्छ त्यसका लागि पर्याप्त बजेट छुट्याइसकेको छ, पुर्याइसकेको छ। राजनीतिक दलहरू अहिले जिल्ला जिल्लामा गएर चुनाव प्रचारप्रसार गर्न थालिसकेका छन्। पार्टीको झण्डाहरू देखेर अब हामीलाई जिताउनुस् भन्न थालेका छन्। प्रत्यक्षतर्फबाट पनि उम्मेदवार छनोट हुन थालिसकेको छ। टिकट कसलाई दिन नदिने भन्ने चर्चा हुन थालिसकेको छ। को चुनाव लड्ने नलड्ने भनेर चर्चा हुन थालिसकेको छ।’