काठमाडौ– पोखरा एभेन्जर्सले जारी नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सलाई १४० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको छ।
पोखराको ब्याटिङमा कुशल मल्ले सबैभन्दा धेरै ३७ रनको योगदान गरे। उनले १८ बल खेल्दै समान तीन चौका र छक्का प्रहार गरे।
ओपनर सुमित महर्जन ९ बलमा २ चौकासहित १२ रनमा आउट भएका थिए। आसिफ शेख १० रनमा आउट हुँदा कप्तान उपुल थरंगाले २८ बलमा १९ रन मात्रै बनाएर पभेलियन फर्किएका थिए।
सिद्दान्त लोहनी १९ बलमा तीन चौकासहित २६ रन जोडेर आउट हुँदा प्रतिस जिसी ११ रनमा अविजित रहे। त्यो बाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरका हुसेन टलत र राज ननन्ले समान दुई विकेट लिए। नन्दन यादव, रजिन ढकाल, कप्तान आन्द्रे माकर्थी र साहब आलमले समान एक विकेट लिए।
लगातार तीन खेल हारेको पोखरा र दुई खेल हारेको विराटनगर दुवै टीम पहिलो जितको खोजीमा रहेका छन्।