मनाङमा जलवायु परिवर्तनको असर, याक चौँरीसँगै हिमाली जीवनशैली संकटमा - Chaitanya News
  • 2026-04-28
  • 08:32:41
  • मंगलबार,बैशाख १५, २०८३
  • मनाङमा जलवायु परिवर्तनको असर, याक चौँरीसँगै हिमाली जीवनशैली संकटमा

    मनाङमा जलवायु परिवर्तनको असर,  याक चौँरीसँगै हिमाली जीवनशैली  संकटमा

    काठमाडौं–  मनाङका खर्कहरू अब केवल घाँसे मैदान होइनन्, ती हिमाली सभ्यताका मौन साक्षी बन्दै गएका छन् । कुनै समय चौँरीको घण्टीको आवाजले भरिने नाम्के, क्याङ र आइसेलेक खर्कमा अहिले सन्नाटा छ । खर्कमा चौँरी घट्नु केवल पशुपालनको संकट होइन, यो मनाङको जीवनशैली, संस्कार र पहिचान मेटिँदै गएको संकेत हो ।

    नार गाउँका ८४ वर्षीय साङ्मा टासी लामा भन्छन्, “चौँरी बिना हाम्रो जीवन कल्पना गर्नै सकिँदैन । घ्यू, छुर्पी, पूजा, चाडपर्व—सबै चौँरीसँग गाँसिएको छ ।” तर आज ती सबै स्मृतिमा सीमित हुँदै गएका छन् । तापक्रम बढ्दै जाँदा चौँरी मात्र होइन, चौँरीसँग जोडिएको संस्कृति पनि पग्लँदै गएको छ ।

    मौसम फेरियो, पुस्ता डरायो:
    पहिले हिमपातको समय थाहा हुन्थ्यो । चिसो बढेपछि गोठ सारिन्थ्यो, खर्कको चक्र चल्थ्यो । तर अहिले मौसम अनुमानभन्दा बाहिर छ । कहिले असिनापानी, कहिले महिनौँसम्म खडेरी । नासोँ गाउँपालिका–४ का चौँरीपालक खरमान गुरुङ भन्छन् पाँच वर्षअघि ६३ वटा चौँरी हिमपातमा गुमाएपछि फेरि जोखिम लिन सकेनन् । “अब चौँरी पाल्नु साहसको काम भयो,” ।

    यस अनिश्चितताले नयाँ पुस्तालाई झन् टाढा धकेलेको छ । गोठालो नपाइने, आम्दानी अस्थिर हुने र जोखिम बढ्दै जाँदा युवाहरू वैदेशिक रोजगारी रोज्न बाध्य भएका छन् । यससँगै पुस्तौँदेखि सरेको ज्ञान र सीप पनि टुट्दै गएको छ ।

    खर्क सुक्दै, पानी हराउँदै:
    जलवायु परिवर्तनको सबैभन्दा गहिरो चोट खर्क र पानीका मुहानमा परेको छ । खर्क बगर बन्दै जाँदा चौँरीका लागि प्राकृतिक आहार हराएको छ । किसानहरू बजारबाट दाना किनेर खुवाउन बाध्य छन्, जुन परम्परागत चौँरीपालनको आत्मासँग मेल खाँदैन ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर उच्च छ । यसले केवल चौँरीलाई मात्र होइन, सम्पूर्ण पारिस्थितिक प्रणालीलाई असर गरिरहेको छ । पहिले हिउँ नपर्ने ठाउँमा खेती देखिन थालेको छ भने हिउँमा निर्भर पशुपालन संकटमा परेको छ ।

    बजार छ, तर पहुँच छैन:
    चौँरीपालनले मनाङ जस्ता जिल्लामा वार्षिक लाखौँ रुपैयाँ आम्दानी दिन सक्छ । तर बजार अस्थिरता र आयातित घ्यू–मासुसँगको प्रतिस्पर्धाले स्थानीय किसान निरुत्साहित छन् । नेपाल याकचौँरी किसान महासङ्घका अनुसार उचित मूल्य र बजार सुनिश्चित भए चौँरीपालन फेरि आकर्षक बन्न सक्छ ।

    संरक्षण कि रूपान्तरण  ?
    राज्यले नश्ल सुधार, ब्याड याक वितरण र रिचार्ज पोखरी निर्माणजस्ता प्रयास थालेको छ । यी प्रयासले आशा जगाए पनि मूल प्रश्न अझै बाँकी छ ।

    के चौँरीलाई जोगाउन सकिन्छ, कि हिमाली जीवनशैली नै नयाँ रूप लिन बाध्य हुँदैछ ?
    जलवायु विज्ञहरू भन्छन्, समाधान केवल संरक्षण होइन, अनुकूलन (एड्याप्टेसन) हो । चौँरी, मानिस र व्यवसाय तीनैलाई बदलिँदो मौसमसँग अनुकूल बनाउनु आजको आवश्यकता हो ।

    मनाङका खर्कहरू अझै पूर्ण रूपमा सुनसान छैनन् । तर यदि अहिले निर्णय गरिएन भने, चौँरीको घण्टी होइन इतिहासको मौनता मात्र बाँकी रहनेछ ।