निर्मला कडायत:
काठमाडौं– सरकारी सेवा पछिल्लो समय युवाहरूका लागि आकर्षणको विषय बन्न थालेको छ। लोकसेवा आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या पछिल्लो समय ऐतिहासिक रूपमा बढ्दै गएको छ।
सरकारी जागिरमा दीगो सुरक्षा, सामाजिक सम्मान र करियरको स्थिरताले युवा आकर्षक बढ्दो रहेको हो। आकर्षण वृद्धि हुँदै जाँदा तयारीका तरिका, स्रोत र अध्ययन सामग्री पनि तीव्र रूपमा परिवर्तन हुँदै गएको देखिन्छ। तयारीकर्ताले पछिल्ला वर्षहरूमा परम्परागत नोटबुकमा आधारित अध्ययनभन्दा बाहिर निस्केर प्रविधि, विश्लेषण र अभ्यास–केन्द्रित विधिलाई अपनाउन थालेका छन्।
नेपालमा अहिले करिब तीनदेखि ४ लाख युवाले वर्षेनी कुनै न कुनै चरणमा लोकसेवा तयारी गर्ने अनुमान छ। तीमध्ये उल्लेख्य हिस्सा प्रदेश र स्थानीय तहका विज्ञापनहरू आउनासाथ सक्रिय हुन्छन्।
अध्ययन कक्ष, पुस्तकालय, अनलाइन समूह तथा मोबाइल एप्सहरूले युवाहरूलाई तयारीमा साथ दिइरहेका छन्। परीक्षा कठिन हुँदै गए पनि तयारी गर्नेहरूको उत्साह झनै बढिरहेको छ। यसले तयारी मोडलहरूमा नयाँ परिवर्तन ल्याएको छ।
तयारीको बदलिँदो प्रकृति:
पहिलाको जमानामा लोकसेवा तयारी भन्नासाथ प्रचलित नोट्स, याद–आधारित कण्ठस्थ अभ्यास र कक्षामा शिक्षकको बोलाइ नै मुख्य माध्यम मानिन्थ्यो। तर आज विद्यार्थीहरू विश्लेषण, तथ्य सङ्कलन, डिजिटल नोटबुक, अभ्यास सेट, क्विज र मक टेस्ट जस्ता बहुआयामिक स्रोतमा भर पर्न थालेका छन्।
काठमाडौंका तयारीकर्ता सुजत केसी भन्छन्, अब केवल किताब पढेर मात्रै पास हुने समय छैन। डिजिटल मोडेलले धेरै सहयोग गर्छ। म दिनमा दुई घण्टा नोट्स पढ्छु, बाँकी समय म डिजिटल एप्समार्फत अभ्यास गर्छु।
विशेष गरी कोरोना महामारीपछि सुरु भएको अनलाइन अध्ययन–संस्कृतिले अब स्थायी रूप लिएको छ। धेरै तयारी संस्थाहरूले अनलाइन कक्षा, रेकर्डेड लेक्चर, करेन्ट अफेयर्स अपडेट र नियमित मक टेस्ट उपलब्ध गराइरहेका छन्।
सबैभन्दा धेरै माग भएको सामग्री करेन्ट अफेयर्स:
लोकसेवा तयारीमा करेन्ट अफेयर्सको भूमिका झनै महत्वपूर्ण बन्दै गएको छ। आयोगले प्रश्नपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक तथा वैज्ञानिक विषय समेट्ने क्रम बढाएको छ। समसामयिक घटनाबारे जानकार नभएको विद्यार्थीले लेखितमा मात्रै होइन, अन्तर्वार्तामा पनि कमजोर प्रदर्शन गर्ने तयारीकर्ता तथा विज्ञहरूको अनुभव छ।
त्यसैले बजारमा अहिले करेन्ट अफेयर्समा आधारित मासिक, त्रैमासिक र वार्षिक पत्रिका तथा विशेष अंकहरू धेरै लोकप्रिय छन्। अनलाइन संस्करणहरूले रियल–टाइम अपडेट उपलब्ध गराइदिन थालेपछि विद्यार्थीहरू सूचना खोज्न सजिलो भएको बताउँछन्।
प्रविधिको प्रयोग:
तयारीकर्ताबीच अहिले “डिजिटल तयारी” एक महत्वपूर्ण ट्रेन्ड बन्दै गएको छ। मोबाइल एप्सहरूले हजारौं विगतका प्रश्नपत्र, समय आधारित क्विज, गलत प्रश्नको समीक्षा तथा विषयअनुसार अभ्यास सुगम बनाइदिएका छन्।
कसैले बसमा यात्रा गर्दा गर्दै प्रश्न हल गर्छन्, कसैले कलेजको छुट्टीमा मिनी–मक टेस्ट दिन्छन्। कसैले प्रविधिमा आधारित सामग्रीबाट जटिल विषय बुझ्छन्।
एक शिक्षकका अनुसार, “तयारीमा निरन्तरता कायम राख्न मोबाइल एप्स ठूलो सहयोगी बनेका छन्। लामो समय एकै स्थानमा बस्न नसक्ने विद्यार्थीका लागि यो उत्तम विकल्प हो।”
कक्षाकोठा–आधारित तयारी अझै उपयोगी:
डिजिटल तयारी बढ्दो भए पनि कक्षाकोठाको लोकप्रियता घटेको छैन। खासगरी विश्लेषणात्मक विषय मानव संसाधन विकास, प्रशासनिक प्रणाली, योजना तथा अर्थशास्त्र, कानुन आदि विषयका लागि विशेषज्ञ शिक्षकसँग प्रत्यक्ष संवाद धेरै उपयोगी मानिन्छ। अनुसन्धानले पनि देखाउँछ कि समूहमा सिकाइ गर्ने विद्यार्थीहरूमा प्रेरणा र अनुशासन दुवै बढ्छ। यही कारण धेरै तयारीकर्ता डिजिटल र भौतिक कक्षा दुवै संयोजन गर्छन्।
मक टेस्टस् सफलता असफलताकै निर्णायक:
पछिल्ला वर्षहरूमा मक स्टलाई तयारीको मेरूदण्ड मान्ने चलन बढेको छ। परीक्षामा समय व्यवस्थापन मुख्य चुनौती भएकोले नियमित मक अभ्यासनै वास्तविक परीक्षा जस्तै मानसिक तयारी गराउने आधार बन्न पुगेको छ।
म वास्तविक परीक्षाभन्दा अगाडि कम्तीमा ५०–६० पूर्ण मक टेस्ट दिन्छु। यसले तनाव घटाइदिन्छ र कमजोर ठाउँ स्पष्ट देखाउँछ,शाखा अधिकृतको तयारी गर्दै गरेका प्रभात देवकोटाले भने।
कुन अध्याय कमजोर छ भन्ने पहिचान, विश्लेषण र सुधारका लागि मक टेस्ट प्रयोग प्रभावकारी भए पनि धेरै विद्यार्थी यसलाई अन्तिम महिनामा मात्र गर्ने गल्ती गर्ने गरेको विज्ञहरूको गुनासो छ।
गाउँका युवामा बढ्दो आकर्षण:
लोकसेवा तयारीमा अब केवल शहरका विद्यार्थीहरू मात्र होइनन्, ग्रामीण क्षेत्रका युवाहरू पनि उत्साहपूर्वक सहभागी हुन थालेका छन्। इन्टरनेट विस्तार, मोबाइल डाटा सुलभता र अनलाइन कक्षाको उपलब्धताले गाउँमा पनि तयारी सहज भएर आएको छ।
सुदुर पश्चिम बाजुरा घर भएका एक विद्यार्थी भन्छन्, “पहिले लोकसेवा पढ्न काठमाडौं आइरहनुपथ्र्यो। अहिले मोबाइल, इन्टरनेट र एमं नोट्सले हामी गाउँमै बसेर तयारी गर्छौँ यसले ग्रामीण युवामा जागिरप्रति आशा र प्रतिस्पर्धा दुबै बढाएको छ।
आर्थिक पहुँच र चुनौती:
लोकसेवा अध्ययन सामग्री तथा कोचिङ क्लास सबैका लागि सजिलो छैन। केही विद्यार्थीहरू भने खर्चिलो शुल्कका कारण गुणस्तरीय सामग्रीमा पहुँच पाउन कठिन रहेको बताउँछन्। यद्यपि, धेरै संस्थाहरूले छात्रवृत्ति, डिस्काउन्ट कक्षा तथा निःशुल्क सामग्री उपलब्ध गराउन थालेपछि यसले केही राहत दिएको छ। राज्यले पनि रोजगारलाई दीगो बनाउने उद्देश्यसहित गुणस्तरीय तयारी सामग्री विकासमा सहकार्य गर्नुपर्ने माग बढ्दो छ।
लोकसेवा तयारी गर्दा ध्यान दिनुपर्ने विषय:
⦁ आधारभूत पुस्तकमा पकड:
आधारभूत पुस्तकहरू, नेपाली संविधान, प्रशासनिक प्रणाली, नेपाल र विश्वका समसामयीक घटनाक्रम र अर्थतन्त्रजस्ता मूलभूत विषयका पुस्तक अध्ययनमा जोड दिनुपर्छ।
करेन्ट अफेयर्समा निरन्तर अपडेट:
दैनिक समाचार अध्ययन, मासिक करेन्ट अफेयर्स नोट, र घटनाको कारण–परिणाम विश्लेषण आवश्यक छ।
⦁ अभ्यास प्रमुख पद्धति:
अभ्यास मक टेस्ट र लेखन अभ्यासले अन्तिम तयारी मजबूत बनाउँछ।
विद्यार्थीको मानसिक स्वास्थ्य सामान्यतः बेवास्ता:
तयारीको प्रतिस्पर्धा, परिवारको अपेक्षा र समय–दबाबका कारण धेरै विद्यार्थी तनावमा पर्ने गरेको पनि देखिन्छ। विशेषज्ञहरू भन्छन्, नेपाली विद्यार्थी मेहनती हुन्छन्, तर निरन्तरता र मानसिक स्वास्थ्यप्रति बेवास्ता गर्छन्।
उनीहरूका अनुसार, अभ्यास–तालिका, छोटो विश्राम, ध्यान–योग, हल्का व्यायाम र पारिवारिक समर्थन तयारीमा ठूलो अन्तर पार्छ।
लोकसेवा तयारी अब केवल पुस्तक आधारित प्रक्रिया होइन, यो एक समग्र रणनीति, प्रविधि, आत्म–अनुशासन र निरन्तर अभ्यासको संयोजन बनेको छ।
देशभर फैलिएको डिजिटल पहुँच, सामग्रीको विस्तार र युवामा बढ्दो आकांक्षाले लोकसेवा तयारीमा क्रान्ति ल्याइरहेको छ।