जाडो समयमा कागती सेवन गर्नु फाइदा कि बेफाइदा ? - Chaitanya News
  • 2026-05-02
  • 11:20:43
  • शनिबार,बैशाख १९, २०८३
  • जाडो समयमा कागती सेवन गर्नु फाइदा कि बेफाइदा ?

    जाडो समयमा कागती सेवन गर्नु फाइदा कि बेफाइदा ?

    काठमाडौं– कागती पानी सेवनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने र विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।

    कागती एक बहुउपयोगी फल हो। दात, तरकारी, अचारदेखि चिया, मह, तातोपानी समेतमा मिसाएर कागती सेवन गर्ने गरिन्छ।

    खानेकुरालाई स्वादिलो बनाउने मात्रै नभएर स्वास्थ्यका हिसाबले पनि यो निकै लाभकारी हुन्छ। विशेषगरी गर्मीको समयमा शरीरलाई शीतल बनाउनका लागि कागती पानी सेवन गर्ने गरिन्छ। कागतीपानी सेवनले शरीरलाई शक्ति दिने र शरीरमा पनीको मात्रा कम हुनबाट बचाउने काम गर्छ।

    कागतीमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ। यसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउनले काम गर्छ।

    जाडो महिनामा कागती सेवन गर्नु कत्तिको राम्रो ?

    विज्ञहरूका अनुसार जाडो महिनामा पनि कागतीपानी सेवन गर्नु शरीरका लागि राम्रो हो। किनभने यसले रोगप्रतिरोधी क्षमता बढाउन भूमिका खेल्छ। जाडो महिनामा खासगरी बिहानको समयमा तातोपानीमा मिसाएर कागती खानु उपयुक्त हुन्छ।

    हरेक दिन बिहान कागती पानीको सेवनले शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। यसो हुँदा शरीरको पाचन प्रक्रिया राम्रो बन्छ। जाडोमा मेटाबोलिल्म अर्थात खानेकुरालाई ऊर्जामा परिणत बनाउने प्रक्रिया कम हुन्छ। कागती पानीले मेटाबोलिल्म सुधारका लागि सहयोग गर्छ।

    जर्नल अफ न्यूट्रिसनमा प्रकाशित अनुसन्धान अनुसार, साइट्रिक एसिड र हाइड्रेशन भएको पेय पदार्थले मेटाबोलिज्म दर बढाउन, भोक नियन्त्रण गर्न र तौल व्यवस्थापनमा प्रभाव पार्न सक्छ। यस कारण मनतातो पानीमा कागतीको रस मिसाएर पिउनाले मेटाबोलिज्म बढ्छ। कागतीमा रहेको साइट्रिक एसिडले शरीरको बोसो, विशेष गरी पेटको बोसो जलाउन मद्दत गर्ने कुरा अध्ययनहरूले देखाएका छन्।

    यी कारणहरूले गर्दा जाडोको समयमा पनि कागती पानी पिउँदा कुनै हानि गर्दैन बरु धेरै फाइदा नै हुन्छ। विशेषगरी खाना खाएपछि कागती पानी पिउनु बढी लाभदायक हुन्छ।

    कसले नपिउने ?

    कागती पानी धेरै लाभदायक भए पनि कसैका लागि भने यो हानिकारक बन्न सक्छ। एसिडिटीको समस्या भएका, अल्सर भएका, रक्तचाप कम भएका व्यक्तिका लागि पनि कागतीको सेवन उपयुक्त हुँदैन। अमिला फलफूलसँग एलर्जी भएका, दाँतको समस्या भएका व्यक्तिले पनि सेवन गुर्नुहुँदैन।