चिसोमा हात–खुट्टाको जोर्नी दुख्छ ? हेलचेक्रयाइँ नगरौं - Chaitanya News
  • 2026-05-02
  • 11:20:15
  • शनिबार,बैशाख १९, २०८३
  • चिसोमा हात–खुट्टाको जोर्नी दुख्छ ? हेलचेक्रयाइँ नगरौं

    चिसोमा हात–खुट्टाको जोर्नी दुख्छ ? हेलचेक्रयाइँ नगरौं

    सामान्यतया जोर्नी दुख्ने समस्या सबै लिंग र उमेर समूहमा देखिने गर्छ । तर ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुमा यसको दुखाइ बढी हुने गरेको चिकित्सकहरु बताउँछन् ।

    दुईपाङ्ग्रे सवारीका चालक हुन् वा बिहान-बेलुका घरबाहिरको काममा खटिने विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिमा हातखुट्टाको जोर्नी दुख्ने र सुन्निने समस्याबाट बढी पीडित हुने गरेको हाडजोर्नी विशेषज्ञहरु बताउँछन् ।

    कति प्रकारको हुन्छ आर्थराइटिस ?

    सामान्यतया आर्थराइटिस दुई किसिमको हुन्छ । एउटालाई अस्टियो आर्थराइटिस भनिन्छ भने अर्काेलाई रूमेटाइड आर्थराइटिस नाम दिइएको छ ।

    घुँडा, कुहिनो, काँध, हात वा पूरै शरीरको कुनै पनि जोर्नीमा यो समस्या देख्न सकिन्छ । रुमेटाइड आर्थराइटिसमा थकान महसुस हुने एवं रोग प्रतिरोध क्षमता कमजोर हुँदै जाने गरेको देखिन्छ । साथै, भोक नलाग्ने जस्ता समस्या पनि देखिन्छ ।

    जाडोमा किन बढ्छ आर्थराइटिस ?

    जाडो मौसममा जोर्नीमा हुने तन्तुहरुमा दबाब सिर्जना हुने भएकोले जोर्नीको दुखाइ महसुस हुने डाक्टरहरु  बताउँछन् । यसको मुख्य समाधान नै चिसोबाट शरीरलाई जोगाउनु हो । डाक्टरहरुका अनुसार यस मौसममा जोर्नीका तन्तुहरू फुल्छन्, जसले स्नायुमा दबाब सिर्जना गर्छ र दुखाइको महसुस हुन्छ ।

    आर्थराइटिसको लक्षण केके हुन्छ ?

    डाक्टरहरुका अनुसार आर्थराइटिस भएमा जोर्नी सुन्निनुका साथै हातखुट्टा चलाउन समेत समस्या हुने गर्छ। शरीरको कुनै अंगमा यो समस्या देखियो भने त्यसले शरीरको अरू अंगलाई पनि प्रभावित गराउने जोखिम बढी हुन्छ।

    हड्डीको जोर्नीमा हुने दुखाइ, जकडिएको जस्तो हुनु एवं सुन्निनु नै आर्थराइटिसको मुख्य लक्षण हो । साथै, जोर्नी आसपासको अंग रातो हुँदै जानु, हिँडाइको गतिमा कमी आउनु जस्ता लक्षण पनि देखिने गर्छ। आर्थराइटिसको लक्षण बिहानको समयमा बढी देखिन्छ।

    जोर्नी सुनिनुलाई सामान्य नसम्झौं

    धेरै मानिस चिसो मौसममा जोर्नी सुन्निनुलाई सामान्य मानेर ढुक्क भएर बस्छन्। तर, चिसो मौसममा जोर्नी सुन्निएको वा दुखेको छ भने ढुक्क भएर बस्न नहुने हाडजोर्नी विशेषज्ञ डा. गिरी बताउँछन् । मुटुमा समस्या हुँदा र चिसोले तन्तु सुनिँदा उस्तै समस्या देखिने भएकाले  चिसोको कारणले नै जोर्नी सुनियो भनेर ढुक्क हुनसक्ने अवस्था नरहेको डाक्टरहरु को भनाइ छ ।

    चिसोका कारण जोर्नी दुखेको हो भने न्यानो कपडा लगाउने र तातो तेल लगाएर सेक्दा दुखाइ कम हुन्छ । अन्यथा दुखाइ यथावत् रहन्छ । चिसोमा यस्तो समस्या लामो समयसम्म देखियो भने मुटुको परीक्षण पनि गर्नु उपयुक्त हुन्छ ।

    जीवनशैली परिवर्तनबाट जोर्नीको दुखाइ नियन्त्रण

    यो समस्या चिसो, वंशाणुगत वा अन्य दीर्घरोगको कारण पनि निम्तिने गर्दछ । जोर्नीको दुखाइबाट बच्न भिटामिन डी आवश्यक पर्छ । यसका लागि जतिसक्दो धेरै समय घाममा बस्नुपर्ने चिकित्सकहरुको सुझाव छ । घाममा बस्दा शरीर न्यानो हुने मात्र नभई शरीरलाई आवश्यक भिटामिन डीको मात्रा पनि पाउन सकिन्छ ।

    भिटामिन डी प्राप्त गर्नका लागि अन्य पूरक खानेकुरा पनि खान सकिन्छ । जाडोमा मानिसहरु प्रायः हाइड्रेटेड रहन बिर्सन्छन् र शरीरमा पानीको मात्रा कम हुँदा स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या देखा पर्छ । विशेषगरी शरीर दुख्ने समस्या कम पानी पिउँदा निम्तिने समस्या हो ।

    जाडो मौसममा घरभित्र बस्दा पनि मोटोपन बढ्न सक्छ । बढी तौलले घुँडा र खुट्टामा समस्या पैदा गर्छ । चिसोमा व्यायाम र काम गर्न चुनौतीपूर्ण भएपनि सक्रिय भइरहनुपर्छ ।

    जाडोमा बाथ रोगबाट पीडितहरुले तातोपानीले नुहाउनु उपयोगी हुने चिकित्सकहरु सुझाउँछन् । तातोपानीमा पौडी वा स्टिम बाथ गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । माछाको तेलमा ओमेगा ३ फ्याटी एसिड हुन्छ । हड्डीको समस्या भएकाहरूको लागि यो उपयोगी मानिन्छ ।