अडिग साहसकी गीता ५० रुपैयाँको सापटीबाट सुरु भएको चटपट यात्राले बदलिदियो जिन्दगी - Chaitanya News
  • 2026-04-29
  • 21:21:19
  • बुधबार,बैशाख १६, २०८३
  • अडिग साहसकी गीता ५० रुपैयाँको सापटीबाट सुरु भएको चटपट यात्राले बदलिदियो जिन्दगी

    अडिग साहसकी गीता ५० रुपैयाँको सापटीबाट सुरु भएको चटपट यात्राले बदलिदियो जिन्दगी

    कैलाली–धनगढी बजार, क्याम्पस चोक यहाँको भिडभाड, गाडीको आवाज, तात्तातो धुलो, बजारको आफ्नै रौनकता यही परिसरमा एउटा सानो नास्ता पसल छ, जसलाई पहिचान दिने नाम हो “एसएम नास्ता पसल”। यो साधारण देखिने पसल चलाउँछिन् ४८ वर्षीय गीता चौधरी, जसको अदम्य साहस, सङ्घर्ष र आत्मविश्वासको कथा सुनेपछि जो–कोही दङ्ग पर्छन्।

    गीता हप्ताका सातै दिन, महिनाका ३० दिन र वर्षका ३६५ दिन एउटै ठाउँमा पाइन् छिन न कुनै चाडपर्व, न कुनै विशेष दिन, न आरामको समय उनी भन्छिन्, “पसल चलाउन छाडी बस्ने फुर्सद नै हुँदैन, किनकि यो पसल मात्रै मेरो बल, मेरो परिवारको सहारा र मेरो आत्मसम्मान हो।”

    गीता अहिले देखिने जति आत्मविश्वासी र दृढ मनकी थिएनन्। उनी २०६५ सालदेखि धनगढीमै कस्मेटिक पसल चलाउँथिन्। सुरुमा व्यापार राम्रै चले पनि विस्तारमा घाटा बढ्दै गयो। बजारको प्रतिस्पर्धा, ग्राहकको घट्दो सङ्ख्या र लगानीको बोझले उनका सपनाहरू भताभुङ्ग हुँदै गए। र अन्ततः एक दिन कस्मेटिक पसल बन्द भयो। उनको रोजगारी गुम्यो, आम्दानी शून्य भयो र त्यससँगै थपियो लगभग नौ लाख ऋणको भारी ।

    उनी भन्छिन्, “कस्मेटिक पसल बन्द हुँदा म सडकमा पुगेझैँ भएँ ऋण, र घर खर्च—सबै एकै पटक टाउकोमा प¥यो। परिवारमा पनि कसैले सम्झेन, उल्टै अपहेलनै चाहिँ धेरै सुने। यो मेरो जीवनको सबैभन्दा अन्धकार क्षण थियो। कसैको सहारा थिएन। आशा लगभग शून्य थिए।” तर यिनै अन्धकारमा गीताले आफ्नो जीवन परिवर्तन गर्ने एउटा सानो ज्योति भेटिन चटपट पसल।

    ५० रुपैयाँको सापटीबाट सुरु भएको नयाँ सपना

    गीतासँग पैसा थिएन, बचत त झन् कल्पना पनि गर्न नसकिने अवस्था भयो। तर छेउमै रहेको सिलाइ सेन्टरमा काम गर्ने एक दिदीबाट उनले ५० रुपैयाँ सापटी मागिन्। त्यस बेलाको ५० रुपैयाँले के–कति सम्भव छ भनेर कसैले सोचेको पनि नहोला तर गीता त्यसैबाट सुरु भइन्। ५० रुपैयाँमा उनले ३० रुपैयाँको भुजा ८ वटा पुन्टे चाउचाउ १० रुपैयाँको चुक र कालो नुन त्यही सानो झोलामा हालेर उनले पहिलो पटक चटपट बनाइन । आश्चर्य! पाँचै मिनेटमा सकियो। उनी भन्छिन्, “पहिलो दिन त्यो पाँच मिनेटमै सकिएको चटपटले मलाई आत्मविश्वास दियो। त्यही पैसाबाट फेरि सामान ल्याएँ, फेरि बेचेँ। बस त्यही क्रम चल्दै–चल्दै यहाँसम्म आइपुगेँ।”

    दैनिक ८–१० हजारको व्यापार, ऋण सकियो, जीवन सजियो

    सार्वजनिक सडकको छेउमा रहेको एक सटरमा र सटर बाहिर आँपको रुख मुनी सानो टेबल राखेर सुरु भएको गीता चौधरीको चटपट व्यापार आज धनगढीको सबैभन्दा लोकप्रिय चटपट पसलमध्ये एक बनेको छ।
    आज उनी भन्छिन् “दैनिक ८ देखि १० हजारसम्म बेच्ने गर्छु। घर चल्छ, छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन्। जीवनलाई हेर्ने नजर फेरिएको छ।” उनको घर पबेरामा भए पनि अहिले धनगढीमै राम्रो पक्की घर छ। ती छोराछोरी, जो कहिल्यै स्कुल जान नपाउने स्थिति थियो, आज राम्रो बोर्डिङ स्कुलमा पढिरहेका छन्। गीता भन्छिन्, “यदि चटपट पसल सुरु गरेकी थिएन भने मेरा छोराछोरी मजदुरी गर्ने बा आमाका व्यथा बोक्दै हुर्किन्थे। तर आज म उनीहरूको भविष्य सुरक्षित गर्न सकेको छु।”

    श्रीमान् राजेशको साथ बेरोजगारीबाट सफल साझेदारीसम्म

    गीताका श्रीमान् राजेश चौधरी २०७२ सालमा बीए पास गरेका व्यक्ति हुन। त्यस बेला रोजगारीको कमी र अस्थिर परिस्थिति भएपछि उनी बेरोजगार नै थिए। श्रीमतीको कस्मेटिक पसल बन्द भएपछि उनीहरूका जीवनमा अझै कठिनाइ थपियो। तर चटपट व्यापार चल्न थालेपछि स्थिति फेरियो। आज राजेश पनि गीतासँगै सधैँ पसलमै खटिन्छन्। उनीहरू दम्पतीले मिलेर पसल चलाउँदा ग्राहकलाई अझ राम्रो सेवा पाउनुका साथै व्यापार पनि बिस्तारै बढ्दै गएको छ।

    गीता भविष्यका लागि सपना बोकेकी महिला हुन्। उनी भन्छिन् “मलाई दसैँ लाग्दैन, तिहार लाग्दैन, मागी लाग्दैन, शिवरात्रि लाग्दैन। मेरो चाड–पर्व ग्राहक नै हुन्। कसैलाई पनि भोकै वा निराश फर्किन दिन मन लाग्दैन।” त्यसैले उनका अनुसार पसल वर्षमा एक दिन पनि बन्द हुँदैन। उनको यस्तो अनुशासन, कर्मशीलता र लगनले धेरैलाई प्रेरित गरेको छ।

    धनगढीभरि लोकप्रिय – गीताको चटपट सबैको रोजाइ

    धनगढीको कुनै कुनामा गएर चटपटको कुरा उठाउने बित्तिकै धेरैले भन्छन् “गीताको चटपट सर्वोत्तम।” उनले बनाउने स्वाद, स्वच्छता, र ग्राहकप्रति गरेको आत्मीय व्यवहारकै कारण आज उनका नियमित ग्राहक हजारौँ छन्। क्याम्पसका विद्यार्थीदेखि लिएर व्यापारी, परिवार लिएर आउने महिला–पुरुष सबैलाई उनका चटपट र पानी पुरी मन पर्छ।

    ज्याला–मजदुरी संस्कार भएको समुदायमा ‘व्यापारी’ बनेका दम्पती

    चौधरी समुदायमा प्रायः ज्याला–मजदुरी नै जीवन धारा बन्ने परम्परा छ। तर गीताले यो परम्परा भत्काइन्। उनको साथमा श्रीमान् जोडिए। आज उनीहरू मजदुरीबाट होइन स्वरोजगारबाट जीवन गुजार्दै छन्। यो उदाहरणले समुदायकै धेरै परिवारलाई व्यापारतर्फ लाग्न प्रेरणा दिएको छ।

    दिनभर पसलमै – बिहान ५ बजेदेखि राति ९ बजेसम्म

    गीताको दिन आफ्नो पसलबाटै सुरु हुन्छ। बिहान ५ बजे उठेर सबै तयारी गर्छिन् चटनी, मसला, भुजा, चाउचाउ, साग, प्याज, तेल, मसलाहरू सब तयार। दिनभरि हँसिलो मुहार लिएर ग्राहकलाई खुसी पार्दै राति ९ बजे पसल बन्द गर्छिन्। यो १६ घण्टाको मेहनत उनी ७ वर्षदेखि निरन्तर गरिरहेकी छन्। तर उनीमा थकान छैन, गुनासो छैन। छ त केवल सन्तोष, आत्मसम्मान र सपनाहरू पूरा भएको खुसी।

    गीता भन्छिन् “जीवनमा एक पटक ठुलो दुःख पाउनु नहुने होइन। तर त्यो दुःखका कारण हार्नुहुन्न। दुःखले जित्छ भने मानिस फेरि उठ्नै नसक्ने बन्छ। म पनि त्यो समयमा भत्किन्थेँ, तर साहस लिएँ।” कस्मेटिक पसल डुबेको, नौ लाख ऋण लागेको, परिवारमा अपहेलित भएकी गीता आज हजारौँ ग्राहकको मन जित्ने सफल महिला उद्यमी बनेकी छन्।

    गीता चौधरी – कठिनाइलाई जित्दै जीवन बदल्ने असल उद्यमीको कहानी

    आज गीता चौधरी धनगढीका धेरै महिलाका लागि प्रेरणा बनेकी छन्। कहिल्यै स्कुलको उच्च शिक्षा पास गर्न नपाएकी महिलाले आफ्नो जीवन अनुभव, दुःख, सङ्घर्ष र निरन्तर मेहनतको आधारमा यस्तो सफलता हासिल गरेकी छिन्, जुन साँच्चिकै प्रशंसनीय छ। उनको कथाले भन्छ सुरुवात ठुलो हुन आवश्यक छैन, विश्वास ठुलो हुनुपर्छ। पैसा होइन, आँट र हिम्मत व्यापारको आधार हो। काम कहिल्यै सानो हुँदैन। आत्मनिर्भर बन्न सकिएन भने समाजले सम्मान गर्दैन र परिश्रमले मात्र जीवन बदलिन्छ।

    ५० रुपैयाँको सापटीबाट सुरु भएको यात्रा आज लाखौँको व्यापारमा परिणत भएको छ। असहाय अवस्थाबाट सुरु भएको सङ्घर्ष आज सम्मान, पहिचान र प्रेरणामा बदलिएको छ। गीता चौधरी केवल चटपट बेच्ने महिला मात्र होइनन् उनी आत्मनिर्भरता, दृढता र सफलताको ज्वलन्त उदाहरण हुन्।