काठमान्डु गोर्खाज तेस्रो जितबाट तेस्रो स्थानमा - Chaitanya News
  • 2026-06-05
  • 14:56:47
  • शुक्रबार,जेठ २२, २०८३
  • काठमान्डु गोर्खाज तेस्रो जितबाट तेस्रो स्थानमा

    काठमान्डु गोर्खाज तेस्रो जितबाट तेस्रो स्थानमा

    काठमाडौं– कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल( मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ । यो सँगै काठमान्डु गोर्खाजले तेस्रो जित हात पारेको छ।

    पाँच खेल खेलिसकेको काठमान्डु तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ। विराटनगर समान अंक भए पनि रनरेटमा काठमान्डु पछि छ।

    काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो।

    चितवनका लागि देव खनाल र रबि बोपाराले समान २१ रन बनाए भने सोहे तनविरले १८ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    काठमाडौंका लागि रासिद खानले १.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए। कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले समान दुई–दुई विकेट लिए।

    आजको खेलमा दुई विकेट लिएका करण र मिलिन्दको विकेट संख्या ९ पुगेको छ। यी दुई खेलाडीसँगै विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरशप्चिमा हर्मित सिंहले पनि समान ९ विकेट लिएका छन्।

    त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो।

    काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए। उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे। यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। तर, सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन्।

    १५ ओभरमा १०९–३ को अवस्थामा रहेको काठमाडौंले त्यसपछि थप ३३ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो। चितवनका बलरले उत्कृष्ट कमब्याक गरेपछि काठमान्डु अलआउट भएको थियो।

    चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। रन्जित कुमार र कमलसिंह ऐरीले दुईरदुई तथा रवि बोपाराले एक विकेट लिए।