पोखरा– गण्डकी प्रदेशमा कृषि उत्पादन घटेको आर्थिक सर्वेक्षणले देखाएको छ। राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१–०८२ को प्रदेशस्तरीय सर्वेक्षणले यहाँको प्रमुख कृषि बाली उत्पादनमा चिन्ताजनक ह्रास आएको देखाएको हो।
प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल १.११ प्रतिशत घटेर ४ लाख ३१ हजार ३८५ हेक्टरमा खुम्चिएको छ। बसाइसराइ र वैदेशिक रोजगारीका कारण खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो अवस्थामा रहेको सर्वेक्षणको निष्कर्ष छ।
रिपोर्टका अनुसार, प्रमुख कृषि बालीको उत्पादनमा झन्डै १० प्रतिशतले कमी आएको छ। धानमा ३.२२ प्रतिशत, मकैमा १६.२३ गहुँमा २०.११ प्रतिशत ह्रास आएको छ। तरकारी उत्पादनमा १०.९८ प्रतिशत र मसलाजन्य उत्पादनमा भने ५.२६ प्रतिशत बढेको देखाएको छ। मह उत्पादनमा भने गण्डकीले निकै उत्कृष्ट प्रगति हासिल गरेको छ।
गत वर्षको तथ्याङ्क हेर्दा मह उत्पादन ६९.६९ प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०८०–०८१ मा ३४५ मेट्रिक टन मह उत्पादन भएकोमा पछिल्लो आर्थिक वर्ष ५८५ मेट्रिक टन उत्पादन भएको थियो।
कफी उत्पादन पनि बढोत्तरी भएको छ। अघिल्लो आर्थिक वर्ष ११७ मेट्रिक टन कफी उत्पादन भएको गण्डकीमा पछिल्लो वर्ष १७४ मेट्रिक टन पुगेको छ। फलफूल उत्पादनमा भने केही ह्रास देखिएको छ। आर्थिक वर्ष २०८०–०८१ मा १ लाख ३ हजार ९६१ मेट्रिक टन उत्पादन भएको फलफूल अध्ययनको वर्ष २०८१–०८२ मा ०.४८ प्रतिशत घटेर १ लाख ३ हजार ४ सय ६६ मेट्रिक टनमा झरेको छ।
पशुपालनतर्फ दुध उत्पादन केही घटे पनि अण्डा र मासुको उत्पादन भने उल्लेख्य बढेको छ। तथ्यांक अनुसार आर्थिक वर्ष २०८०–०८१ मा २६ करोड ४ लाख २६ हजार लिटर दुध उत्पादन भएकोमा पछिल्लो वर्ष घटेर २५ करोड ७१ लाख ६८ हजार लिटरमात्रै उत्पादन भएको थियो। तर, मासु र अण्डा उत्पादन निकै बढेको छ। मासुमा १.३६ प्रतिशत र अण्डामा झण्डै ५ प्रतिशत उत्पादन वृद्धि भएको हो।
आर्थिक वर्ष २०८०–०८१ मा ५४ हजार ६ सय ५ मेट्रिक टन मासु उत्पादन भएकोमा बढेर ५५ हजार ३४५ मेट्रिक टन पुगेको थियो। आर्थिक वर्ष २०८०–०८१ मा २४ करोड १२ लाख अण्डा उत्पादन भएकोमा पछिल्लो वर्ष २५ करोड २९ लाख गोटा उत्पादन भएको छ। माछापालनचाहिँ केही घटेको छ। अध्ययन वर्षमा १ हजार ६१७ मेट्रिक टन उत्पादन भएकोमा त्यसअघि १ हजार ६२९ मेट्रिक टन उत्पादन भएको थियो।
वास्तविक किसानको पहुँचमा भूमि उपलब्ध नहुँदा उत्पादन कम भएको अध्ययनको निष्कर्ष छ। यस्तै, सिँचाइ, उन्नत बिउ र मलको अभाव तथा बाँदर लगायत वन्यजन्तुबाट हुने क्षति प्रमुख चुनौती हो। गण्डकीमा कृषि उत्पादनको सम्भावना प्रशस्त भए पनि राज्यले व्यापक सुधार गर्नुपर्ने सुझाव अध्ययनले दिएको छ।
विशेषगरी, विदेशवाट फर्किएका युवाको सिप, ज्ञान र पूँजीलाई कृषिमा जोड्न सके र भूमि बैंकको अवधारणा कार्यान्वयन गर्न सके गण्डकीले कृषिबाट उल्लेख्य प्रगति हासिल गर्ने रिपोर्टमा उल्लेख छ।
गण्डकीको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी सेवा क्षेत्रको योगदान छ। ५६ प्रतिशत योगदान सेवा क्षेत्रले मात्रै दिएको छ भने देशको अर्थतन्त्रलाई मजबुत बनाउने कृषि र उद्योग क्षेत्रको योगदान टिठलाग्दो छ। कृषि क्षेत्रको योगदान करिब २८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १६ प्रतिशत हाराहारी छ। राष्ट्रिय तथ्यांकभन्दा गण्डकीको योगदान केही सकारात्मक भए पनि धेरै सुधारको खाँचो रहेको विज्ञहरूको सुझाव छ।