काठमाडौं– जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ जाडोमा देखिने रोग तथा समस्या हुन्। खासगरी बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ ।
निमोनिया:
जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन्। यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन्। निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ। फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ।
ज्वरो, रुघाखोकी:
जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ। जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ। यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरूमार्फत हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने गर्छ।
जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन्। यसले खासगरी बच्चा तथा बुढाबुढीलाई आक्रमण गर्छ। ज्वरो आउने, रुघा लाग्ने समस्या वेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ।
एलर्जी:
जाडो मौसममा छाला सुक्खा हुने समस्या धेरैलाई हुन्छ। चिसोका कारण पानीको मात्रा कम हुँदा छाला सुक्खा हुन्छ । छालाको एलर्जी, छाला चिलाउने, ओठ फुट्नेजस्ता समस्या समस्या चिसो मौसममा देखिने मुख्य समस्या हुन्। छालाको एलर्जीले जटिल समस्यासम्म निम्त्याउन सक्छ।
बाथ, जोर्नी दुख्ने:
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ। हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छन्। जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन्।
यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ। न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ।
पिनास:
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ। नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ। नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ।
टन्सिल:
टन्सिल पनि जाडोमा निम्तिने समस्या हो। चिसोका कारण हुने टन्सिलबाट बच्न तातोपानी पिउने, झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ
दम, मुटुरोग:
जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चिन्छन्। यस्तो वेला श्वासनली साँघुरो भई सास फेर्न गाह्रो हुन्छ। जाडो मौसममा दमका बिरामी धेरै देखिन्छन्। खासगरी बुढाबुढीलाई सताउँछ। बच्चामा अस्तीमा भन्ने रोग देखा पर्छ।
यो जाडोमा निम्तिने एकप्रकारको एलर्जी हो। यो एलर्जीले सास फेर्न असहज बनाउँछ र बिस्तारै मुटुमा पनि समस्या देखापर्छ। आकस्मिक निधनका घटना पनि चिसो मौसममै बढी देखा पर्छ।