काठमाडौँ– शाखा अधिकृत पदका लागि माग आकृति फाराम भरेर पठाउन पुनः ताकेता गरिएको छ।
आज (शक्रबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत पदका लागि माग आकृति फाराम भरेर पठाउन पुनः ताकेता गरेको हो ।
निजामती सेवामा रिक्त हुने शाखा अधिकृत पदका माग आकृति फाराम विभिन्न मन्त्रालय तथा कार्यालयहरूले समयमै नपठाएकाले मन्त्रालयले आजसम्मको समयसीमा तोकी ताकेता गरेको हो।
मन्त्रालयले यसअघि आर्थिक वर्ष २०८२–८३ मा रिक्त हुने पदहरूको माग आकृति फाराम पठाउन कार्तिक ९ गते परिपत्र जारी गरेको थियो। सो परिपत्रमार्फत सात दिनको समय दिँदै विभिन्न सेवा, समूह र उपसमूह सञ्चालन गर्ने मन्त्रालयहरू, महालेखापरीक्षक तथा महालेखा नियन्त्रक कार्यालयलाई लोक सेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिका अनुसार चालु आर्थिक वर्षमा रिक्त हुने शाखा अधिकृत पदहरूको माग आकृति फाराम पठाउन निर्देशन दिएको थियो। तर, तोकिएको समयमा सम्बन्धित निकायहरूबाट माग आकृति फाराम नआएकाले मन्त्रालयले पुनः ताकेता गरेको हो।
मन्त्रालयले यसअघि १६ कार्तिकसम्म प्राविधिक र अप्राविधिक दुवैतर्फका पदहरूको माग आकृति फाराम तोकिएको ढाँचामा भरेर पठाउन समयसीमा निर्धारण गरेको थियो। तर, पुनः ताकेता गर्दै मन्त्रालयले प्राविधिक शाखा अधिकृत पदका लागि आजसम्म र अप्राविधिक पदका लागि मंसिर ५ गतेभित्र माग आकृति फाराम पठाउन आग्रह गरेको छ।
मन्त्रालयले तोकिएको मितिभित्र माग आकृति फाराम नआएमा ती विवरण लोक सेवा आयोगमा पठाउन नसकिने पनि जानकारी दिएको छ।
![]()