काठमाडौँ– लिभर सिरोसिस एउटा यस्तो रोग हो जसमा कलेजो गम्भीर रूपमा संक्रमित हुन्छ अनि राम्रोसँग काम गर्न बन्द गरिदिन्छ। हेपाटाइटिस, फ्याटी लिभर, वा लामो समयसम्म रक्सी सेवन जस्ता कारकहरूको कारणले गर्दा कलेजो लामो समयसम्म बिरामी भएपछि लिभर सिरोसिस हुन्छ।
यसका लक्षणहरूमा थकान, जन्डिस, खुट्टा र पेट सुन्निने, आँखा पहेँलो हुने आदि हुन्छ। यो रोग लागेका भएका व्यक्तिहरूले प्रायः आफ्नो आँखामा परिवर्तन अनुभव गर्छन्। आजको लेखमा हामी तपाईँलाई बेवास्ता गर्नु नहुने यस्तै केही लक्षणहरू बताउनेछौँ।
कलेजोमा खराबी भएपछि आँखामा देखिने लक्षण:
सुक्खा आँखा:
आँखा सुख्खा हुनुलाई जेरोफ्थाल्मिया भनिन्छ। यो लिभर सिरोसिससँग प्रत्यक्ष रूपमा जोडिएको छैन। यो भिटामिन ए को कमीले हुन्छ।
यद्यपि, लिभर सिरोसिस खास गरेर अटोइम्यून अवस्था वा हेपाटाइटिससँग सम्बन्धित छ भने यसले आँसुको उत्पादनलाई असर गर्न सक्छ। यसले आँखामा जलन, चिलाउने र केही बिझेको जस्तो महसुस गराउन सक्छ।
जन्डिस:
जन्डिस एक यस्तो रोग हो जसमा तपाईँको छाला, आँखा र श्लेष्म झिल्ली (म्युकस मेम्ब्रेन्स) पहेँलो हुन्छ। रगतमा बिलिरुबिन भनिने पहेँलो पदार्थको स्तर उल्लेखनीय रूपमा बढेपछि जन्डिस हुन्छ।
बिलिरुबिन रातो रक्त कोशिकाहरूको विच्छेदनबाट उत्पादन हुन्छ। यसलाई कलेजोले शरीरबाट निकाल्ने काम गर्छ। तर केही गरी कलेजोले राम्रोसँग काम गरेन वा पित्त नलीमा अवरोध भयो भने बिलिरुबिन शरीरमा जम्मा हुन थाल्छ। जसले गर्दा व्यक्तिको छाला र आँखाको सेतो भाग पहेँलो देखिन्छ।
आँखामा दाग:
यसमा आँखाको सेतो भागमा फिँजजस्ता दागहरू बन्छ। रक्सी सेवनका कारण लिभर सिरोसिसले भिटामिन ए को कमी पनि निम्त्याउन सक्छ, जसले गर्दा यी दागहरू बन्दछन्। कलेजोको यस रोगले शरीरमा भिटामिन ए को भण्डारण र कार्यलाई बिगार्छ, जसले गर्दा आँखामा यी समस्याहरू निम्तन्छन्।
कलेजोले शरीरको लागि रगत सफा गर्ने, शरीरबाट विषाक्त पदार्थहरू हटाउने, बोसो प्रशोधन गर्न पित्त उत्पादन गर्ने र पोषक तत्त्वहरू प्रशोधन गर्ने जस्ता कामहरू गर्छन्। त्यसैले कलेजोमा हुने कुनै पनि क्षतिलाई गम्भीरतापूर्वक लिनुपर्छ।
आफूमा यी मध्ये कुनै पनि लक्षणहरू देख्नुभयो भने तपाईंले तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ।
अस्वीकरण: लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीको उद्देश्यका लागि मात्र हुन् र यसलाई व्यावसायिक चिकित्सा सल्लाहको रूपमा व्याख्या गर्नु हुँदैन। यदि तपाईंलाई कुनै प्रश्न वा समस्या छ भने सधैँ आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।