‘बाढीपहिरोका कारण क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब बढी लाग्ने, अवरुद्ध सडक खुलाउन उच्च प्राथमिकतामा’ - Chaitanya News
  • 2026-05-17
  • 08:32:30
  • आइतबार,जेठ ०३, २०८३
  • ‘बाढीपहिरोका कारण क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब बढी लाग्ने, अवरुद्ध सडक खुलाउन उच्च प्राथमिकतामा’

    ‘बाढीपहिरोका कारण क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब बढी लाग्ने, अवरुद्ध सडक खुलाउन उच्च प्राथमिकतामा’

    काठमाडौँ– हालैका मनसुनजन्य बाढीपहिरोका कारण क्षतिग्रस्त भएका सडक संरचनाको पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यही असोज १८, १९ र २० गतेसहित यस वर्षको मनसुनका कारण क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्र १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। यस्तै, गत वर्षका विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि बाँकी रहेको १ अर्ब ७० करोड रुपैयाँ पनि खर्च गर्नुपर्नेछ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार बाढीपहिरोका कारण अवरुद्ध भएका सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको छ। “अवरुद्ध सडक छिट्टै सञ्चालनमा ल्याउनका लागि उपकरण र जनशक्ति परिचालन भइसकेको छ,” मन्त्री घिसिङले बताए। उनका अनुसार मन्त्रालय र मातहतका निकायहरूले निरन्तर अनुगमन गरेर कार्य अघि बढाइरहेका छन्।

    मन्त्रालयका तथ्याङ्कअनुसार यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ। उक्त राजमार्ग पुनर्निर्माणका लागि मात्रै करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङ लगायतका राजमार्गको पुनर्निर्माणमा झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

    यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणका लागि चार अर्ब ५२ करोड रुपैयाँ, नयाँ निर्माण गर्नुपर्ने र अस्थायी रूपमा सञ्चालनका लागि आवश्यक बेलिब्रिज निर्माणमा ८० करोड रुपैयाँ, र वैकल्पिक सडक पुनर्निर्माणमा एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।