‘तीन पटक सांसद, दुई पटक मन्त्री र ७० वर्ष कटेकालाई एकपटक कुलिङमा राखौं’: नैनसिंह महर - Chaitanya News
  • 2026-05-10
  • 04:46:45
  • शनिबार,बैशाख २६, २०८३
  • ‘तीन पटक सांसद, दुई पटक मन्त्री र ७० वर्ष कटेकालाई एकपटक कुलिङमा राखौं’: नैनसिंह महर

    ‘तीन पटक सांसद, दुई पटक मन्त्री र ७० वर्ष कटेकालाई एकपटक कुलिङमा राखौं’: नैनसिंह महर

    काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीन पटक सांसद भइसकेकालाई आगामी चुनावमा उम्मेदवार नबनाउने, दुई पटक मन्त्री भइसकेकालाई फेरि मन्त्री नबनाउने नीति लने र ७० वर्ष उमेर कटेकालाई कुनै पनि जिम्मेवारीमा रोक्ने उनको प्रस्ताव गरेका छन् ।

    आज (मंगलबार) सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पार्टीबाट तीन पटक सांसद, दुई पटक मन्त्री भएका र ७० वर्ष कटेका नेताहरूलाई एक पटक कुलिङ पिरियड (विश्राम अवधि) मा राख्ने प्रस्ताव गरेका छन्।

    उनका अनुसार १४ औं महाधिवेशनका परिवर्तनका आकांक्षा अझै पूर्णतः साकार हुन सकेका छैनन्। यो अवस्थामा जेनजी पुस्ताका सरोकारहरूले पार्टीलाई गहिरो आत्मनिरीक्षणका लागि प्रेरित गरेको उनको बुझाइ छ।

    १४ औं महाधिवेशनले केन्द्रीय समितिमा पदाधिकारीसम्म नयाँ पुस्ताको आगमन भएको तर, महाधिवेशनपछि पार्टी सत्ता सञ्चालन र गठबन्धन व्यवस्थापनमा बढी केन्द्रित हुँदा आन्तरिक सुधारका प्रयासहरूले अपेक्षाकृत गति लिन नसकेको उनले बताएका छन्।

    अब सुधारका लागि अगाडि बढ्नुपर्ने र यसका लागि आत्मसमीक्षा गर्नुपर्ने उनको आग्रह छ।

    अब अगाडि बढ्दा पनि सामूहिक जवाफदेहिता अपरिहार्य रहेको उल्लेख गर्दै उनले तीन पटक सांसद, दुई पटक मन्त्री भएका र ७० वर्ष कटेकालाई एक पटक कुलिङमा राख्नुपर्ने बताएका हुन्।

    उनले लेखेका छन् ‘कुलिङ अफ पिरियडको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाईडको भुमिका खेल्नुपर्छ।’

    यो प्रस्ताव अवसरको सिन्डिकेटमाथिको प्रहार भएको उल्लेख गर्दै उनले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नरहेको समेत बताएका छन्।