ओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले भन्यो बालेनविरुद्ध पनि जाहेरी आए के गर्ने ? माग्यो लिखित आदेश - Chaitanya News
  • 2026-05-10
  • 05:15:04
  • शनिबार,बैशाख २६, २०८३
  • ओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले भन्यो बालेनविरुद्ध पनि जाहेरी आए के गर्ने ? माग्यो लिखित आदेश

    ओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले भन्यो बालेनविरुद्ध पनि जाहेरी आए के गर्ने ? माग्यो लिखित आदेश

    काठमाडौं– जेनजी युवा अगुवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब बढाइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी छन्।

    जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि पक्राउ गर्न दबाब बढेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी हुन्।

    जेनजी युवाहरुले ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लगेर गएका थिए। तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन।

    त्यसको जानकारी काठमाडौं प्रहरी परिसर प्रमुख रमेश थापाले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई गराए। त्यसपछि खापुङ केही बरिष्ठ अधिकारीहरुलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालकहाँ गएका थिए।

    गृहमन्त्रीसँगको छलफल पनि जाहेरी दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा कुराकानी भएको थियो तर टुंगोमा पुगेन ।

    स्रोतका अनुसार गृहमन्त्री अर्यालले जाहेरी दर्ता गर्नुपर्ने धारणा राखेका थिए। तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध आएको जाहेरी भोलि बालेनविरुद्ध पनि आउनसक्ने र त्यसले परिस्थिति थप भड्किनेतर्फ सचेत गराएका थिए।

    ‘गृहमन्त्री जाहेरी दर्ता गर्नुपर्ने पक्षमा थिए तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध जाहेरी आउला, भोलि बालेनविरुद्ध जाहेरी आउला, त्यस्तो बेला के गर्ने भनेर कुरा राखेका थिए। त्यसपछि यसबारे प्रधानमन्त्रीसँग नै छलफल गरेर टुंगोमा पुग्ने निष्कर्षमा पुगियो,’ स्रोतले भन्यो ।

    त्यसपछि गृहमन्त्रीले प्रधानमन्त्री कार्कीसँग छलफलको समय मागेका थिए। सोही अनुसार गृहमन्त्री, गृहसचिवसहित चार वटै सुरक्षा अंगका प्रमुखहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त छलफल भएको थियो। सो छलफल सोमबार बेलुकादेखि मंगलबार बिहान २ बजेसम्म चलेको स्रोत बताउँछ।

    छलफलको क्रममा प्रधानमन्त्री कार्कीले जेनजी युवाहरुको मागका साथै सुरक्षा अंगका प्रमुखहरुसँग विकसित परिस्थितिलाई कसरी सम्हाल्ने भनेर रायसमेत मागेकी थिइन्।

    छलफलमा सहभागी प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गृहमन्त्रीसँगको छलफलमा भएकै कुराहरु राखेका थिए।

    साथै उनले यो विषयमा प्रधानमन्त्री कार्कीबाट लिखित निर्देशन प्राप्त भए सोहीअनुसार अघि बढ्न तयार भएको बताएको एक सहभागीले जानकारी दिए।

    ‘केन्द्रीय सुरक्षा समितिबाट निर्णय गरेर लिखित निर्देशन दिए ओली र लेखकविरुद्ध उजुरी दर्ता गर्न सकिन्छ भन्ने उहाँको आसय थियो,’ स्रोतले भन्यो ।

    भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा भएका घटनाबारे छानबिन गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

    सो समितिको सिफारिस अनुसार ओली र लेखकसहित तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यका बाहिर जान रोक लगाइएको छ।

    सुरक्षा अधिकारीहरुले न्यायिक छानबिन भइरहेका बेला उजुरी लिँदा र पक्राउ गर्दा मुठभेड हुनसक्ने धारणा राखेका थिए।

    साथै सुरक्षा अधिकारीहरुले जेनजी युवा आन्दोलनको क्रममा प्रहरीहरुबाट लुटिएका हतियार सबै फिर्ता नभइसकेकाले सुरक्षा संवेदनशील भएको जानकारी समेत गराएका थिए ।

    प्रधानमन्त्री कार्कीले भने यी समग्र विषयमा अझ मसिनो गरी छलफल र विश्लेषण गर्न अधिकारीहरुलाई निर्देशन दिएको सुरक्षा स्रोत बताउँछ। उनले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने दोहोर्‍याएकी थिइन्।