काठमाडौं– दशैंमा सधैंभन्दा खानपान केही फरक हुन्छ। मासु र मसालेदार परिकारको उपभोग दशैंमा बढ्छ। तर सन्तुलन नमिलाई धेरै खानेकुरा खाने र व्यायाम नगर्दा यो बेला विभिन्न स्वास्थ्य समस्या निम्तिने गरेको पनि पाइन्छ।
दशैं शरद ऋतुमा पर्ने भएकाले खानेकुरा पनि राम्ररी पच्छ। त्यसैले यो बेला एकैपटक आवश्यकता भन्दा धेरै खानेकुरा खाने गरिन्छ। दशैंको बेला पारिवारिक भेटघाट धेरै हुन्छ। आफ्नो घरबाहेक आफन्तकहाँ पनि गएर पनि यसो केही खाइहालौं भन्ने हुन्छ।
आफूलाई मन परेको खानेकुरा स्वभाविक रुपमा पनि अलि बढी खाइहालौं भन्ने हुन्छ। तर खानाको मात्रालाई नियन्त्रण गर्नु एकदमै जरुरी हुन्छ। दशैंमा यो खाने त्यो नखाने भन्दा पनि थोरै खाने सन्तुलनमा खाने भन्ने कुरामा बढी ध्यान दिनुपर्छ।
एकैचोटि धेरै खानुको सट्टा दिनभरिमा बरु पाँचदेखि ६ चोटि थोरै थोरै खाना खान सकिन्छ। पहिले दशैंमा जस्तो खानपानको माहोल हुन्थ्यो त्यो अहिले परिवर्तन भएको छ। पछिल्लो समय दशैंमा मासुका परिकारसँगै प्रशोधित खानेकुरा जस्तो दालमोठ, चिप्स, कोक फन्टा, मिठाई लगायत खानेकुरा पनि खाने गरिन्छ। तर यस्ता खानेकुराको सेवनबाट बचेर दशैंमा घरको खानेकुरालाई नै प्राथमिकता दिनु राम्रो हुन्छ।
कस्तो हुनुपर्छ आहार ?
खाना कुनै धर्म, संस्कृतिका लागि होइन, शरीररूपी मेसिनका लागि इन्धन हो। यसर्थ हामीले लिने यस्तो हुनुपर्छ
१. चाँडै पच्ने र शरीरलाई ऊर्जा दिने। प्रशोधन नगरिएका वा कमभन्दा कम प्रशोधन गरिएका प्राकृतिक सुपाच्य आहार।
कस्तो आहार पच्न सजिलो हुन्छ ?
–चोकरसहितका पूर्ण अन्न
–हरिया सागसब्जी
–काँचो सलाद र फलफूल
–बोक्रासहित खान मिल्ने कन्दमूल
–टुसा उमारिएका गेडागुडी तथा अन्न
२.पचाउन धेरै शक्ति खर्च गर्नपर्ने आहारले कम ऊर्जा दिन्छ र शरीरमा जडता ल्याउँछ।
कस्तो आहार पच्न गाह्रो हुन्छ ?
–सेतो मैदाबाट बनेका परिकार
–मांसाहार, मिठाई, दुग्ध पदार्थ
–तारेभुटेका र धेरै मसला राखेर बनाइएका परिकार
–जंक, प्याकेटजस्ता पत्रु खाना
–गर्मी गराउने परिकार, जस्तै स् चिया, कफी, कोकाकोला आदि।
–नशा दिने पदार्थ, जस्तै स् रक्सी, चुरोट, सूर्ती आदि
त्यसैले खाना त्यस्तो हुनुपर्छ, जसको सेवनपछि शरीरमा आलस्य र भारीपन होइन, ऊर्जा र स्फूर्ति प्राप्त होस्, शरीरलाई राम्रोसँग सञ्चालन गर्न सकोस् र खाइसकेपछि
–शरीरभित्र गएर राम्रोसँग पाचन होस्
–पाचन भएपछि शरीरले चाहिने रस सोस्न सक्नुपर्छ।
–रस लिएर रगतमा पठाएपछि पाचन भएर बाँकी मल हरेक दिन बाहिर निष्कासन हुनुपर्छ। त्यो काम २४ घण्टामा हुनुपर्छ। २४ घण्टामा त्यो काम हन्छ भने खाएको खाना सही भयो, भएन भने ठीक छैन भनेर बुझ्नुपर्छ।
खाने उचित तरिका:
स्वस्थ रहन हामीले खाने खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, खनिज, फाइबर र पानी हुन जरुरी छ। तर हामीले पोषण दिने आहारलाई बढी प्राथमिकता दिने गरेका छौं। बुझ्नुपर्ने कुरा– खाना पोषणयुक्त हुनाका साथै सजिलै निष्कासन हुने पनि हुनुपर्छ। राम्रोसँग पाचन भई निष्कासन हुन दैनिक खाने खानामा प्रशस्त रेशा छोक्राबोक्रा हुनुपर्छ। यस्ता कुरा चोकरसहितका अन्न, सागब्जी र काँचो सलाद, फलमा प्रशस्त हुन्छ। अचेल हाम्रो खान्कीमा यस्ता खानेकुरा कम भएका छन्। तसर्थ हामीले दैनिक खानामा पकाएका र काँचो खान मिल्ने खाद्य मिलाउन सके मात्र पनि हामी स्वस्थ रहन सक्छौं।
स्वस्थ रहन यी खाना कति र कसरी खाने भन्ने कुरामा प्रकृतिप्रेमी निरोगधामले सजिलो आहार सूत्र प्रस्तुत गरको छ, जसलाई ‘तीन बराबर आहार’ सूत्र भनिन्छ।
तीन बराबर आहार:
एक भाग चोकरसहितका पूर्ण अन्नबाट पकाइएका खाना (३३ प्रतिशत) : ब्राउन राइस, चोकरसहितको रोटी, ढिँडो आदि।
एक भाग हरियो तरकारी (३३ प्रतिशत) : हरियो भन्नेबित्तिकै पात भएका मात्र होइन, हरियो देखिने सबै तरकारी, जस्तै : परवल, हरियो सिमी, बोडी, ब्रोकाउली, हरियो प्याज, घिरौला, पाटे घिरौंला आदि।
एक भाग काँचो सलाद फलहरू (३३ प्रतिशत) : गाजर, काँक्रा, बन्दा र सबै फल। फलफूलमा केरा र आँपलाई भने सलादका रूपमा लिन मिल्दैन। यी फलमा कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकाले खानाकै काम गर्छन्।
यी तीन थरी खानाको बरोबर मिश्रण नै तीन बराबर आहार हो। यसरी तीन थरी बराबर खाँदा पाचन, सोसन र निष्कासन सजिलो हुन्छ। बिहान पेट सफा हुन्छ, पेट सफा भएपछि टाउको पनि सफा हुन्छ र निद्रा राम्रो पर्छ, जसले गर्दा मानसिक अवस्था ठीक हुन्छ, कार्यक्षमता बढ्छ।
दसैंमा वा अन्य समयमा पनि यी आहार खाँदा धेरै चिल्लो र मरमसला हालेर, तारेर, भुटेर, धेरै बासी राखेर नखाऔं। ठीक तरीकाले पकाएर स्वास्थ्यको अवस्था हेरी ठीक मात्रामा खाने गरौं। यी आहार खाँदा ३ बराबर आहारभित्र अन्नको १० प्रतिशत लिन सकिन्छ। यसरी मिलाएर ठीक मात्रामा लिँदा यसबाट हुने हानि कम हुन्छ।
तसर्थ हामीले दैनिक खानामा सकेसम्म यी तीन थरी बराबर समावेश गर्नुपर्छ। तीन बराबर आहारलाई शरीरको अवस्था र समस्या हेरी ४ वा ५ बराबरसम्म मिलाएर खान सकिन्छ। तौल बढी भएका मानिसले ४ बराबर आहार, जसमा अन्नको भाग २० देखि २५ प्रतिशत घटाएर हरिया तरकारी दुई थरी (पात भएको वर्गबाट १ कचौरा र पात नभएका हरिया तरकारी वर्ग मिसाएर १ कचौरा) गरी लगभग ३०० ग्राम र अन्तमा १५० देखि २०० ग्रामसम्म सलाद लिने। यसरी मिलाएर खाँदा बढी भएको तौल हप्तामा १ किलो सजिलै घट्न सहयोग पुग्छ।
दसैंमा कसरी खानपान गर्ने ?
दसैंमा होस् वा अन्य बेला, खानपान सधैं स्वस्थ हुनुपर्छ। रमाइलो र स्वादका लागि खाइएको खाना, जीवनभर समस्या निम्त्याउने नहोस्। त्यसैले दसैंमा पनि सम्भव भएसम्म तीन बराबर खाना मिलाएर खाँदा तीव्र रोगदेखि जीर्णरदीर्घ रोगसम्मबाट बच्न सकिन्छ। दसैंमा पोषिलो र भारी खानेकुरा मांसाहार र मिठाइ बढी प्रयोग हुन्छन्। यी आहार किन्दा हरिया सगसब्जी र फलफूल, सलाद पनि प्रशस्त किन्ने गरौं र भान्छामा सागसब्जी र सलादलाई प्राथमिकता दिने गरौं, जसले पाचन राम्रो हुन सहयोग गर्छन्।
माछामासु, अन्डा, दुग्ध पदार्थ:
प्रोटिन प्राप्तिका लागि माछा, मासु, अन्डा दुग्ध पदार्थ खाने गरिन्छ। पाचन प्रकृति हेर्दा मानिस शाकाहारी हुनुपर्ने हो। तर पोषणका लागि धेरै पहिलेदेखि नै लिने गरिएको मांसाहार खाँदा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। अहिले हाम्रो समाजमा यी खानाको बढी प्रयोग हुने हुँदा सब्जी, सलाद कम हुने गरेका छन्। दसैंमा त झन् यी आहारकै परिकार बढी हुन्छन्। यी आहारमा पाचनका लागि चाहिने छोक्राबोक्रा हुँदैन र कब्जियत हुन्छ।
अब मनमा लाग्न सक्छ यी आहार कति लिन सकिन्छरु त्यसका लागि आफ्नो शरीरलाई मापदण्ड बनाएर, आफ्नो पाचन क्षमता हेरेर प्रयोग गरौं।
–दसैंमा वा अन्य समयमा पनि यी आहार खाँदा धेरै चिल्लो र मरमसला हालेर, तारेर, भुटेर, धेरै बासी राखेर नखाऔं। ठीक तरीकाले पकाएर स्वास्थ्यको अवस्था हेरी ठीक मात्रामा खाने गरौं। यी आहार खाँदा ३ बराबर आहारभित्र अन्नको १० प्रतिशत लिन सकिन्छ। यसरी मिलाएर ठीक मात्रामा लिँदा यसबाट हुने हानि कम हुन्छ। तर जीवन निर्वाहका लागि यी आहार खानैपर्छ भन्ने छैन। खानैपरे अनिवार्य प्रशस्त सागसब्जी र सलाद सेवन गर्नुपर्छ, जसले पाचनमा सहयोग पुग्छ। तर स्वास्थ्य समस्या, जस्तै ः बाथ, मुटुरोग, हाडजोर्नी दुख्ने समस्या, सुगर, प्रेसर, दमलगायत अन्य समस्या भएका व्यक्तिले भने यी आहार नलिनै बेस हुन्छ। स्वास्थ्य अवस्था ठीक भएकाले पनि यी आहार दैनिक भने प्रयोग गर्न हुँदैन।
टुसा उमारिएका गेडागुडी र अन्न:
पोषणका लागि मांसाहार नै हुनुपर्छ भन्ने छैन। यसका लागि टुसा उमारेका दाल, गेडागुडी, अन्न र सुक्खा फल प्रयोग गर्न सकिन्छ।
दसैंमा यसै पनि अन्नको टुसा उमारेर जमरा कान र शिरमा लगाउने चलन छँदै छ। तसर्थ दसैंमा जमरासँगै दाल, गेडागुडी, जस्तै स् चना, मुङ, मेठी आदि र अनाजलाई टुसा उमारेर, परिकार बनाई खान सकिन्छ। टुसा उमारिएका गेडागुडी र अनाजमा प्रोटिनका साथै प्रशस्त रेशा छोक्राबोक्रा हुन्छ, जसले पाचन पनि राम्रो हुन्छ र स्वस्थ पनि भइन्छ। टुसा उमारिएका अनाजका धेरै परिकार बनाएर खान सकिन्छ। यसलाई बफाएर, झोल बनाएर र काँचै पनि खान सकिन्छ। तसर्थ दसैंमा टुसा उमारिएका गेडागुडी र अनाजका परिकार बनाऔं।