११ महिनामै नेपालमा ३८ अर्बको धानचामल आयात - Chaitanya News
  • 2026-06-22
  • 17:28:41
  • सोमबार,आषाढ ०८, २०८३
  • ११ महिनामै नेपालमा ३८ अर्बको धानचामल आयात

    ११ महिनामै नेपालमा ३८ अर्बको धानचामल आयात

    काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो।

    गत आव २०८१–८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात परिमाण र बाहिरिने रकम दुवैमा सामान्य गिरावट आएको देखिन्छ।

    गत आव ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको ७ लाख ५३ हजार ३ सय ५ टन धानचामल नेपाल भित्रिएको थियो।

    त्यस्तै सोही अवधिमा १९ अर्ब ९९ करोड ९ लाखभन्दा बढी मूल्यको ५ लाख २१ हजार २ सय ६९ टन कच्चा धान आयात भएको थियो।

    तर, चालु आव भने यो परिमाण घटेर ४ लाख ६१ हजार १ सय ८ टनमा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ।

    कच्चा धान आयात घटे पनि धानको बिउ आयात भने केही बढेको छ। गत वर्ष १ अर्ब १६ करोड ६२ लाख बराबरको २ हजार ५ सय ७० टन बिउ आयात भएकोमा यस वर्ष १ अर्ब २९ करोड ९४ लाख बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात भएको छ।

    तथ्यांक अनुसार बासमती चामल आयात गत वर्षको ७ अर्ब २६ करोड ८४ लाख रुपैयाँ (६६ हजार ३ सय ९७ टन)बाट वृद्धि भई चालु आव ७ अर्ब ८६ करोड ३१ लाख (६७ हजार ६ सय ६७ टन) पुगेको छ।

    त्यसैगरी अन्य सामान्य चामल आयात अघिल्लो वर्ष १० अर्ब २३ करोड ५९ लाख ९१ लाख ५६ हजार २ सय ६१ टन० रहेकोमा यस वर्ष बढेर ११ अर्ब ८ करोड ८४ लाख (१ लाख ७१ हजार ५४ टन) पुगेको छ।

    यो तथ्यांकले स्वदेशमै धान कुटेर चामल बनाउनु भन्दा विदेशबाटै तयारी चामल किन्ने प्रवृत्ति बढेको देखाउँछ।

    यस्तै कनिका र ब्राउन राइस आयात पनि वृद्धि भएको छ। गत वर्ष २८ करोड ५ लाख बराबर ६ हजार ८ सय २ टन कनिका आयात भएकोमा चालु वर्ष बढेर ३५ करोड १ लाख बराबरको ८ हजार ६ सय ८९ टन भित्रिएको छ। त्यस्तै ब्राउन राइस आयात पनि ४.३५ टनबाट बढेर ७.०७ टन पुगेको छ।

    गत आव ११ महिनामा यी वस्तु आयातबाट सरकारले ३ अर्ब ५३ करोड ६१ लाख राजस्व संकलन गरेको थियो। तर, चालु आव सोही अवधिमा यस्तो राजस्व घटेर २ अर्ब ६१ करोड ६२ लाखमा सीमित भएको छ।