काठमाडौं– हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको अत्यन्त महत्वपूर्ण र पवित्र एवं धार्मिक पर्व हो, हरितालिका तीज। एक किंवदन्ती अनुसार हिमालय पुत्रीले आफ्नो मन पराएको वर प्राप्तिका लागि जंगल गएर शिव आराधना गर्न थालिन्। धेरै वर्षसम्म आराधनाको फल प्राप्ति नहुँदा एकदिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार वर्त बसिन्। उनको कठोर तपस्या पछि मात्रै शिवजी प्रकट भएर चिताएको कुरा पुगोस् भनेर आर्शीवाद दिनुको साथ उनलाई पत्नीको रुपमा स्वीकार गरे।
पार्वतीले शिवजीलाई पतिको रुपमा पाउनको लागि १०७ औं जन्मसम्म घोर तपस्या गरेको थिइन्। तर, उनलाई १०८औं जन्ममा उनको तपस्या पूर्ण भएको हामीले धर्मशास्त्रमा पढेको छौं। र, यो फल प्राप्ति भएको दिन भाद्र शुक्ल तृतियाको दिन थियो। यो व्रतलाई हरितालिका तीज भन्नुको अर्थ पार्वतीलाई उनका साथीहरुले पिताको घरबाट हरण गरी जंगलमा लगेको प्रसङ्गबाट पनि जोडिन्। यो व्रत सबै विवाहित महिलाले आफ्नो अखण्ड सौभाग्यका लागि गर्छन् भने अविवाहितले शिवजी जस्तो असल श्रीमान पाउनका लागि व्रत पूजन गर्ने गर्दछ।
![]()
आम हो यो तिजमा आइन भनेर
रुदै रुदै गयो मेरो भाइ त ।
नभने दाईले आइन बैनी माइत ।।
गाउँ सहर भुलेर दिदी र बहीनी।
नाचौ न मिली नाउली साईली ।।
केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासु÷ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे तर, अब त्यो समय रहेन । नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ।
काठमाडौं महानगरपालिका १० बस्ने ८० वर्षकी कुन्दी पौडेल भन्छीन् हाम्रा पालामा हामीले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेका थियौं , “म सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु तर, आजभोलि तीजका गीत सुन्दा तीजका हु्न् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।”
मेरा पालामा गाउँघरमा साथी सहेली, फुपू अमजू, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडाहरु एकअर्कासँग साट्थ्यौं । सानो छँदा तीज पर्व मनाउन मैले मादलको तालमा छमछमी नाचेको अझै सम्झना छ, “आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ उनले भनीन् ।”
दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा कुन्दी पौडेल मात्रै होइन, पुरानो पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिँढीका सामान्य महिला पनि चिन्तित छन् । चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको शङखमुलकी योसदा देवी जोसीले बताईन् । “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको जोसीको गुनासो छ।”
यस्तै बझाङ छबिस पाथिभेरा गाउँपालिकाकी पूर्व गाउँपालिका उपाअध्ष राधिका रतलाले पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्ने बताइन् । चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उनले भनिन् ।
परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीको लागि महत्वपूर्ण मानिन्छ । तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व हो। तर पछिल्लो समय तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै सहरको जस्तै देखावटी हुँदै गइरहेको उनले बताईन।
रतला भन्छिन्, “तीज आउनु एक महिना अघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउथे । अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ ।
![]()
पहिलेको तीज अहिले इतिहाँस नै साबित हुन खोज्दैछ। आधुनिक युगले तीज पर्व जोखिममा पर्दै गइरहेको छ। यसका ज्वलन्त उदाहरणहरु प्रसस्तै रहेका छन् सहर बजारमा । तीजको संस्कृति हराएको अथवा मौलिक पन पलायन भएको अहिलेको तीजमा पाइन्छ। पहिलेको तीजमा माइतीले चेलीको घर गई माइतमा लिएर आएपछि दर खुवाउने प्रचलन थियो भने अहिलेको तीज भनेको सहरका विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा तीज पर्व मनाइरहेका छन्। भनौँ न संस्कृतिलाई विकृतितर्फ रुपान्तरण गरिरहेका छन्। महिना दिनअगाडि बाट नै तीज पर्व मनाउनु कति सुखद्रु तीज पर्व नमनाउनु भन्ने होइन। तर, तीजको नाममा भड्किलो खर्च गर्नु, नवपुस्तामा नकारात्मक असर पर्ने गरी पर्व मनाउनु हुँदैन भन्ने कुरा मात्र हो। अहिलेको संस्कृति भनेको विकृतितर्फ मोडिरहेको उदाहरणहरु एक दुई मात्र होइन सयौँ रहेका छन्। पुराना पुस्ताले सिकाएको संस्कृतिलाई नै भुलेर यसलाई विकृति बनाउनु हुन्न भन्ने मेरो व्यक्तिगत धारणा मात्रै हो। यहाँ तीजको नाममा एक महिना अगाडिबाटै दर खाने, भोज भतेर, मादक पदार्थ तथा तीजको नाममा देखासिकी प्रवित्ति हावी भएको छ।
हाम्रो मौलिक संस्कृति विकृति तर्फ त मोडिरहेको छ। यो एकदमै सोचनीय विषय हो। आफ्नो परम्परा, रीतिरिवाज, संस्कृतिको जर्गेना गर्नु हाम्रो आफ्नै कर्तव्य हो।
हाम्रो मौलिक संस्कृति विकृति तर्फ त मोडिरहेको छ। यो एकदमै सोचनीय विषय हो। आफ्नो परम्परा, रीतिरिवाज, संस्कृतिको जर्गेना गर्नु हाम्रो आफ्नै कर्तव्य हो। तर, आफ्नो संस्कृतिलाई नै भड्किलो बनाउँदा भने आगामी पुस्ताले हामीबाट के सिक्नेरु तीज पर्वको नाममा विकृतिका गीतहरु युट्युवमा प्रसस्त छन्। युट्युवमा तीज गीत भनेर सर्च गर्ने हो भने आफ्ना बा–आमासँग बसेर सुन्ने, हेर्न लायकका गीतहरु विरलै मात्रामा मात्रै भेटिन्छन्। तीजका गीत, रीतिरिवाज, संस्कृतिलाई जोगाउने खालका गीत हराउँदै गएका छन। पुराना प्रचलनका संस्कृति हराउँदै आधुनिक तर्फ मोडिएको प्रसस्तै र्पाइरहेका छौं। तीज पर्व महिलाहरुका लागी अत्यन्त ठूलो पर्व हो। त्यसो त नेपालीहरुका लागी सबै चाड उत्तिकै प्रिय रहन्छन्, छन्। तर, तीज पर्व भड्किलो बन्दै गएकोमा दुईमत भने छैन। केहीलाई भने आधुनिक तीज पर्व राम्रै लाग्ला तर, पुराना पुस्ताले यसलाई स्वीकार गर्न गर्दैनन्।
![]()
त्यसो त सबै सहरका मानिसहरुले तीज पर्वलाई भड्किलो बनाएका छैनन्। केहीले तीजलाई विकृति नै बनाएका छन् भन्नमा कुनै हिचकिचाउनु पर्दैन। केहीले भने यो प्रवित्तिलाई सकारात्मक रुपमा लिएको पनि पाईन्छ । महिला दिदी बहिनीहरु आफ्नो पतिको स्वास्थ्य, दीर्घायु, तथा उनले चाहेका मनोकाङ्क्षाहरु पुरा हुन् भनेर वर्त बस्ने प्रचलन गएको देखिन्छ। मेरो भनाईले गलत अर्थ नलागोस् कि वर्त लिनैपर्छ भन्ने होईन, संस्कृतिलाई विकृतितर्फ रुपान्तरण नगरौँ भन्ने मात्र हो। सहरमा तीज पर्व भनेको एक दिन होइन महिनौँ अगाडिबाट खाने, नाचगान गर्ने मात्र होइन, आफ्ना नयाँ गहना सो गर्ने प्रचलन हावी भएको छ। केही हुनेखाने मानिसमा सचेतनाको कमजोरीले गर्दा महंगा कपडा, गहना सो गर्दा गरीब, विपन्न, असहाय तथा कमजोर मानिसहरुलाई कति असर पर्छ भन्ने हेक्का राख्नुपर्छ कि पर्दैनरु यो विषय एकदमै सोचनीय विषय हो। एक जनाको कारणले गर्दा सम्पूर्ण समाज नै दुर्घन्धित अर्थात् गरीब, विपन्न मानिसहरुलाई नकारात्मक असर पर्ने गरेको छ। धनीहरुले गहना सो गरेका कारण गरीब तथा विपन्न मानिसहरुलाई पनि लाउने खाने रहर हुन्छ। सहरमा त महंगा कपडा नलगाए, गहना सो नगरे चाडपर्व नै आएजस्तो हुँदैन। तर, गाउँमा भने चाडपर्व अलिक भिन्न रहेपनि सहरको देखासिखीले गर्दा नकारात्मक सृजना पैदा भइरहेको छ।
यसले त यस्तो खायो। उसले त उस्तो लगायो। हामी नि खानुपर्छ। लगाउनुपर्छ भन्ने कुरा हाबी भइरहेको छ। मेरो तर्क के मात्रै भने हाम्रो संस्कृति देखासिकी मा मात्र हैन, व्यवहारमा र संस्कृतिको जर्गेना गर्न तर्फ लाग्नुपर्ने हुन्छ भन्ने मात्रै हो। यो देखासिकीको बारेमा, गरगहना देखाउने अथवा पर्वलाई भड्किलो बनाइरहने विषयमा किन सरोकारवालाहरु, बौद्धिक मानिसहरु आवाज उठाउँदैनन् रु कि यीनिहरु नै यी कुरामा संलग्न छन्रु अब नेपाली महिलाहरुले तीज पर्वको नाममा भड्किलो बनाउनु भन्दा पनि समाजमा बढ्दै गइरहेका विकृतिलाई, विसंगतिलाई, सचेत गराउनुपर्ने देखिन्छ।
मुलुकी फौजदारी संहिता २०७४ र मुलुकी देवानी संहिता २०७४ मा महिलाको अधिकार सुनिश्चित गरिएकाले आफ्नो अधिकार जान्नका लागी महिलाहरुले आँफैबाट जागरुप हुनुपर्ने देखिन्छ। महिलाहरुले तीजलाई विकृति बनाउने हैन, यस अवसरमा महिलाले आफ्नो अधिकार माग्नुपर्छ। महिलालाई महिला अधिकारकै बारेमा सामान्य जानकारी छैन भने तीज पर्वको नाममा देखावटी संस्कृति देखाएर मात्र हुन्न।
पहिले पहिले छोरीबुहारीको शिक्षामा पहुँच निकै कम थियो। हुने खानेहरूका छोरीले मात्रै शिक्षामा अवसर पाउँथे तर समयक्रमसँगै छोरी अनि बुहारीले पढ्न पाउने समय आयो। छोरीले पढाइसँगै विभिन्न आर्थिक उपार्जनका काम गर्न थाले। त्यसपछि तीज गीतका भावमा दुःख र वेदनाभन्दा पनि महिला जागरण तथा छोराछोरी बराबर हुन् भन्ने भाव बोकेका गीत सुन्न थालियो। जुन समाज परिवर्तनसँगै सकरात्मक थियो भन्न सकिन्छ।
शिक्षासँंगैको आर्थिक उपार्जनले महिलाको सोच र जीवनस्तर माथि उकासिनु राम्रो पक्ष हो तर शिक्षित र आधुनिक भयौँ भन्दैमा तीजको परम्परागत सहिष्णुताको मुख्य पाटो नै मर्ने गरेर तिजका नाममा उत्ताउलो र भड्किलो गीत बजारमा सार्वजनिक गर्नु पार्टी प्यालेसमा उत्ताउलो र भड्किलो गीतमा नाच्नु कति उचित होला रु यस प्रकारको कार्यले तीजको मर्म र महत्वलाई मारेको मात्रै छैन, संस्कार र संस्कृतियुक्त तीजलाई असभ्य र कुरूप बनाउन मद्दत गरेको छ। हाम्रा चाडपर्वको मौलिकता बचाउने र कुसंस्कृतिलाई परिवर्तन गर्ने जिम्मा अबको शिक्षित पुस्तामा अडिएको छ।
समय र पुस्ताअनुसार परिवर्तन स्वाभाविकै हो तर कुनै पनि कुराको मूल तत्व, मर्म नै हराउने गरेर भएको परिवर्तनलाई मौलिक मान्न सकिँदैन। तीजको मौलिकता, सामाजिक तथा सांस्कृतिक पाटोलाई जोगाउन नयाँ पुस्ताले सोच्नुपर्ने बेला आएको छ।
महिलाहरु सबल बनुन्, तीज पर्व भड्किलो नबनोस् सबै महिला दिदीबहीनीहरुमा हरितालिका तीज २०८२ को हार्दिक मंगलमय शुभकामना।
![]()