लोप हुँदै स्वास्थ्यका लागि अधिक लाभयादक कोदो - Chaitanya News
  • 2026-07-09
  • 11:57:02
  • बिहिबार,आषाढ २५, २०८३
  • लोप हुँदै स्वास्थ्यका लागि अधिक लाभयादक कोदो

    लोप हुँदै स्वास्थ्यका लागि अधिक लाभयादक कोदो

    निर्मला कडायत: ग्रामीण भेगका पाखोबारी पहिले कोदो खेतीले ढाकिने गरेका हुन्थे। ती पाखोबारी आजभोली बन्जर बनेका छन्। मानिस पहाड छोडेर तराई झर्न थाले। पहाडमै भएकाहरूको रोजाइमा पनि भात पर्न थाल्यो। त्यसैले पछिल्लो समय कोदो खेती लोप हुँदै गएको हो। मानव स्वास्थ्यका लागि कोदो निकै लाभदायक बाली हो। तर, मानिसले यसको महत्त्वलाई बेवास्ता गर्दा कोदोप्रति कृषक आकर्षक हुन नसकेका हुन्।

    कुनै समय प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले अन्य खाद्यान्न बालीले ढाकिन थालेका छन्। कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषक तत्वले भरिपूर्ण बालिका रुपमा लिइन्छ। कोदोका परिकार मानिसको पेटले सहजै पचाउन सक्छ। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ। कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत हो।

    तौल घटाउन कोदो खानु राम्रो मानिन्छ। कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन। जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ। मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ। यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ। यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ। कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ। कोदोमा हुने आइरनले रक्त अल्पता हुन दिँदैन। यस्तै कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ। मधुमेहको खतराबाट बच्न कोदोको परिकार लाभदायक छ।

    कोदोका यस्ता थुप्रै फाइँदा हुँदा पनि मानिसले यसको बेवास्ता गर्न थालेका छन्। कृषकले कोदो खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको कृषक बताउँछन्। केहीले फाट्टफुट्ट कोदो खेती गरे पनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ। पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न कृषकले छाड्दै गएका छन्। अन्य बालीभन्दा स्वास्थ्यका लागि लाभदायक भए पनि अहिले धेरै किसानहरुले कोदो खेती गर्नै छाडिसकेका छन्।

    कहिले कोदोको माग सहरमा बढ्दो भए पनि खेती हुन छोडेको बझाङको छबिस पाथिभेरा गाउँपालिकाका किसान कटक थापा बताउँछन्। ुरोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने कोदोको माग पछिल्लो समय बढ्दो छ। सहरका मानिसले यसलाई स्वस्थकर खानाको रुपमा लिन थालेका छन्। तर, किसानले यसलाई लगाउनै छोडिसके,ु उनले सुनाए।

    छबिस पाथिभेराकी जलुदेवी कडायत जवानी कोदो बारीमै वितेको अनुभव सुनाउँछिन्। ुजवानीका दिन कोदोबारीमै बिते। साथीहरूसँग कोदो रोप्दा खुबै रमाइलो हुन्थ्यो। घरमा मुरीकामुरी कोदो भित्र्याइन्थ्यो। अहिले त सबैले कोदो लगाउनै छोडे उनले भनिन्।

    कोदोको मदिरासमेत भन्ने भएकाले सहरमा यसको माग बढ्दो छ। काठ्माडौंलगायतका सहरमा यसको प्रयोग तीनपानेसँग पनि गरिन्छ।

    गाउँमा भने सडक सञ्जाल विस्तार भएसँगै सहर बजारबाट गहुँ, चामल भित्रिन थालेपछि कोदो, जौँ, फापर जस्ता पोषिला अन्न बाली लोप हुन थालेका हुन्।

    कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता पदार्थ हाल्न नपर्ने भएकाले यो स्वस्थ र देशका लागि नै फाइदा हुने बताइन्छ। नेपाल कुपोषणको दुष्च्रकमा फसेको र विद्यालय पढ्ने बालबालिका कुपोषणबाट पीडित भइरहेकाले यसबाट बच्न कोदोजन्य बालीको उत्पादन प्रवद्र्धन गर्नुपर्ने कृषि विज्ञहरूको भनाइ छ।

    नेपालमा कोदोको उत्पादन घट्न थालेपछि विदेशबाट आयात हुने क्रम बढ्दो छ। आर्थिक वर्ष २०७६–७७ मा सात करोड १५ लाख बराबरको कोदो आयात भएको तथ्यांक छ । आर्थिक वर्ष २०७७–७८ मा सात करोड २२ लाख, आव २०७९–८० मा ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०–८१ मा मात्र ७५ करोड ४४ लाख २२ हजार ६५९ बराबरको कोदो आयात भएको सरकारी तथ्यांकले देखाएको छ।