निर्मला कडायत;
हिन्दू धर्मावलम्बी माझ साउन महिनाको साउन महिनाको ठूलो महत्त्व हुन्छ। साउनलाई पवित्र महिनाको रुपमा लिने गरिन्छ। साउन हरियालीले भरिने महिना पनि हो। साउन महिनामा विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने गरिन्छ। हिन्दू नारीले साउन महिनाको महत्त्व थप झल्काउँदै आएका छन्। साउने संक्रान्ति पर्व सुरु भएसँगै महिला मेहेन्दी र हरियो चुरा लगाउने गर्छन्। महिलाले साउनभर नै मेहेन्दी र हरियो चुरा लगाउने गरेका छन्।
वनजंगल, खेतवारी मात्र नभई साउन महिना सुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ। विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहन्दी लगाउँछन्। तर, यो चलन कहिलेबाट सुरु भयो र किन साउन मै हरियो चुरा र मेहेन्दी लगाइन्छ भन्नेबारे एकिन छैन।
हिन्दू धर्मग्रन्थका अनुसार ‘ साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमान्को आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरूको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमान्मा श्रीमतीको आकर्षण कायम राख्छ ।
चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकले पुस्टि पनि गरेका छन् । मेहेन्दीले पनि स्वास्थमा फाइदा पुर्याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायन युक्त मेहेन्दीले भने यस्ता फाइदा पुर्याउँदैनन् ।
बानेश्वरमा पसल भएकी कमला पाठकले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन्। छेउमै तरकारी पसल चलाउँदै आएकी ममता देवकोटाले पनि हरियो चुरासँगै मेहन्दीले हात सजाएकी छन् ।
यतिबेला प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ। साउन लागे लगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा मलिाहरूको रोजाइमा परेको छ।
पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ। ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ।
विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ। यद्यपि, यस महिनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ।
चुरा पसलमा भेटिएकी कमला आफूले धार्मिक विश्वासका कारण चुरा लगाएको बताउँछिन्। ‘साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ,’ उनले भनिन्।
सोही पसलमा चुरा किनिरहेकी गायत्री थापाले साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले महिनाभर हरियो चुरा लगाएर सोमबारको व्रत बस्ने गरेको बताइन्।
शङखमुल घर भएकी योसोदा रिजालले साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको संख्या वर्षैंपिच्छे बढ्दै गएको बताइन्।
‘परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्,’ उनले भनिन्, ‘घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन।’
साउनमा शृंगारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने भएकाले व्यापारीहरू पनि खुसी देखिन्छन् । साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृंगार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला बस्त्र खरिदकर्ताका भिड बढेसँगै व्यापार बढिरहेको व्यापारीहरूको भनाइ छ।
यस महिना सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ। विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन्। महिलाहरूले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्।
काठमाडौं महानगरपालिका चाबेहील बस्दै आएकी अनिसा कोइराला पनि साउन महिनाको पहिलो दिनदेखि नै हातमा हरियो चुरा, मेहेन्दी र राता कुर्था सुरुवालमा सजिएर हिँड्ने र सोमबार व्रतसमेत बस्न थालेको बताएकी छन्। उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा कोरियामा छन्। श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बस्ने गरेको उनको भनाइ छ।
हरियो चुरा पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो छ। हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिलाहरू बताउँछन्। महिलाहरू आफ्नो श्रीमान्को सुस्वास्थ्यको लागि सोमबारको व्रत बस्ने विश्वास गरिन्छ। यो एउटा आस्था पनि हो। सबै हिन्दू नारीको साउन महिना चाड बन्न पुगेको छ।
तर पछिल्लो समय कतिपयले यसलाई अनावश्यक तडकभडकको रूपमा पनि मनाउन थालेका छन्। नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ।