काठमाडौं–नेपाल सुपर लिग (एनएसएल) २०२५ को एलिमिनेटरमा आज (आइतबार) एफसी चितवन र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँने भएको छ ।
लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो हुँदै प्लेअफमा प्रवेश गरेका थिए। एलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। त्यसैले दुवै टोली आगाको खेल जित्दै एनएसएल यात्रा कायम राख्ने योजनामा हुनेछ।
आज हुने खेलमा दुवैको लागि महत्वपूर्ण हुनेछ। चितवन एनएसएलमा पहिलोपटक प्लेअफमा पुगेको हो र यो पहिलो नकआउट खेल हुनेछ। यसपटक स्वदेशी र विदेशी खेलाडी मिलाएर सन्तुलित टिम बनाएको चितवन एनएसएलमा अझ अघि बढ्ने लक्ष्यमा छ।
उता पोखरा भने लगातार दोस्रोपटक प्लेअफ खेल्न लागेको हो। दोस्रो संस्करणमा लिगमा शीर्ष स्थानमा रहे पनि पोखरा दुवै क्वालिफायर हार्दै बाहिरिएको थियो। यसपटक त्यो खराब लयलाई तोड्ने लयमा पोखरा छ।
लिग चरणको खेलपछि चितवनका प्रशिक्षक नवीन न्यौपाने र पोखराका प्रशिक्षक सुमन श्रेष्ठले अबको लक्ष्य फाइनल पुग्ने रहेको बताएका थिए।
चितवनका प्रशिक्षक नवीन न्यौपानेका लागि आफ्नो पूर्व टिमविरुद्ध यो दोस्रो भिडन्त हुनेछ। यसअघि लिग चरणमा चितवनले पोखरालाई २–० ले पराजित गरेको थियो। चितवन त्यही प्रदर्शनलाई कायम राख्न चाहन्छ भने पोखरा बदला लिने योजनामा छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ।