काठमाडौँ– आज (आइतबार) मा पनि काठमाडौँमा वायु प्रदूषण बढेको छ। काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखिएको छ।
बिहान ७ बजे काठमाडौँको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ। प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ।
दिल्लीको एक्यूआई दुई सय ४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको दुई सय सात रहेको छ। बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाडौँको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो। एक्यूआई दुई सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ।
डाक्टरहरूका अनुसार वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने छ। एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ।
वायु प्रदूषणले वृद्ध वृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ। मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घ रोगी पनि उच्च जोखिममा पर्छन्। अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ।
![]()