काठमाडौं– काठमाडौंमा बिहीबारदेखि सुरु भएको यूथ ओडिआई शृंखलाको पहिलो खेलमा नेपाल यू–१९ टोलीलाई अफगानिस्तान यू–१९ ले १३० रनले हराएको छ ।
अफगानिस्तानले दिएको ३०१ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ४६.१ ओभरमा १७० रनमा अलआउट भयो। नेपालका निरज यादवले अर्धशतक बनाएपनि अन्यबाट उल्लेख्य योगदान हुन सकेन।
निरजले ५३ रन बनाए। अशोक धामी र सन्तोष यादवले समान २४ रन बनाउँदा अभिषेक तिवारीले १७ रन बनाए।
अफगानिस्तानका लागि जैबुल्लाह शाहीनले १० ओभरमा २४ रन दिएर २ विकेट लिए। महबुब खान र वाहिदुल्लाह जाद्रानले पनि २–२ विकेट लिँदा अब्दुल अजिज र नूरिस्तानी ओमरजाईले १–१ विकेट लिए।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाउँदै ३ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन बनाए। त्यस्तै ओपनर खालिद अहमदजाईले ७६ रन बनाए। यी दुई मिलेर दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए। बर्कात इब्राहिमजाईले ३५ रनको क्यामिओ पारी खेले ।
नेपालका सन्तोष यादवले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट लिँदा दयानन्द मण्डल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए।