काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताएका छन्।आज (बुधबार) सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।
उनले देश र जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने लक्ष्य राखेर अघि बढ्न सुझाव समेत दिए।
उनले रेडियो नेपाल लोकतन्त्र र गणतन्त्रको सारथी भएर जनता र देशको हितमा काम गर्न स्वायत्त रहेको बताए। इतिहासमा सत्ताको पञ्जाभित्र परेर अधिनायकवादीको गुणगान गाउने प्रवृत्ति केही हदसम्म परिवर्तन भएको उनले उल्लेख गरे।
रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभई तीन करोड नेपाली नागरिक भएको उल्लेख गर्दै स्वायत्त भएर नीति तथा कार्यक्रमहरू अघि सार्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘देश र जनताप्रति उत्तरदायी बनेर काम गर्ने लक्ष्य रेडियो नेपालको छ। देश र जनताको समृद्धि सुखका लागि अधिनायकवादी हुनु हुँदैन। विगतको इतिहास हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै गुणगान गाउने, लोकतन्त्र आउँदाखेरि लोकतन्त्रकै गुणगान गाउने खालको जुन भूमिका थियो आज त्यो सम्पूर्ण रूपमा परिवर्तन भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै नेताको, कुनै मन्त्रीको मात्रै ताबेदारी कदापी गर्नुहुन्न । रेडियो नेपालले आफ्नो स्वायत्त भएर आफ्नो नीति कार्यक्रमहरू अगाडि सारेर अगाडि लाग्नुपर्ने छ।
बदलिँदो राजनीतिक परिस्थितमा नेपालको समृद्धि र जनताको सूचनाको हक प्रत्याभूत गर्ने कुरामा रेडियो नेपाल अगाडि बढ्नुपर्नेमा उनको जोड छ।