काठमाडौँ– सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि सात वटा उपसमिति गठन भएको छ।
आज (शुक्रबार) सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयहरूमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो।
बैठकले सात वटा उपसमिति बनाएर छलफल गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए। समितिमा परेका सबै उजुरीहरूलाई समान प्राथमिकता दिएर छलफल गर्न उपसमिति बनाएर छलफल गर्ने जानकारी उनले दिए।
समितिले उजुरी अध्ययन कार्यदल भनेर नामाकरण गरेको उपसमितिले १५ दिनभित्र सबै उजुरीको निर्णय गरिसक्ने बताएको छ। कार्यदलले निर्णय गर्नुअघि समितिको सचिवालयले ७ दिनभित्र उजुरी सम्बन्धी प्रतिक्रिया लिने पनि निर्णय गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे परेको उजुरीमाथि पनि १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। समितिमा २० वटा शीर्षकमा उजुरी परेको छ।
समितिमा परेको उजुरीका आधारमा नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, शहरी विकास मन्त्रालय, सहकारी, वैदेशिक रोजगार, धितोपत्र बोर्ड, स्वास्थ्य मन्त्रालय, क्रसर उद्योग, केन्द्रिय अनुसन्धान ब्युरो, नेपाल स्काउट, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा परेका उजुरीको अध्ययन र छलफल गरी निर्णय सिफारिस गर्न कार्यदललाई अधिकार दिइएको सभापति पोखरेलले जानकारी गराए।