स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक - Chaitanya News
  • 2026-05-03
  • 17:28:44
  • आइतबार,बैशाख २०, २०८३
  • स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक

    स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ ।आज (आइतबार) मन्त्रालयमा एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिवेदन सार्वजनिक गरेका हुन्।

    मन्त्री पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए।

    स्वास्थ्य बीमा संघ मात्र नभएर स्थानीय सरकारको समेत भएको भन्दै मन्त्री पौडेलले तीनवटै सरकार मिल्ने हो भने यसले सार्थकता पाउने धारणा समेत राखे।

    हाल यस्तो रकम ३० अर्ब हाराहारीमा भएको भन्दै पौडेलले जानकारी दिए। स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने उनको दाबी छ।

    हरेक वर्ष बजेटमा रहेको ३ अर्बले बीमाको खर्च धान्ने अवस्था नभएकाले आगामी बजेटमा यसलाई १० अर्ब पुर्‍याइने मन्त्री पौडेलले प्रतिबद्धता जनाए।

    मन्त्री पौडेलले नागरिकको स्वास्थ्यमा बढी असर पार्ने चिनीजन्य पदार्थमा थप कर लगाउने तथा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्रदूषण, सुर्ती, मदिरा आदिमा लगाइएको कर स्वास्थ्य बीमा कोषमा जाने व्यवस्था भए कोष बलियो हुने उनले स्पष्ट पारे।

    त्यसका लागि पहल पनि भइरहेको उनले जानकारी दिए। मन्त्री पौडेलले राज्यको तलब खाने कर्मचारीहरूको स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य बीमा कोषबाटै हुने व्यवस्था गरेर तलबको एक प्रतिशत नागरिक र बाँकी एक प्रतिशत राज्यले दिने व्यवस्था गर्ने योजना सार्वजनिक गरे।