काठमाडौँ– नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवरसहित ९ जना वरिष्ठ प्रहरी अधिकारी भोलि (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदैछन्।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि ४ चैतको राति १२ बजेबाट कुँवरसहित अन्य प्रहरी अधिकारी अवकाशमा जान लागेका हुन्। यसअघि पनि सोही नियमअनुसार उमेर हदका कारण प्रहरीका वरिष्ठ अधिकारीहरू अवकाश पाइसकेका छन्।
कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक ९
(एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकाशमा जाँदै छन्।
त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल र धु्रवराज राउत पनि भोलि ४ चैतमा अनिवार्य अवकाशमा जाँदैछन्।
उनीहरू ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनीहरूसँगै प्रहरी सेवामा प्रवेश गरेका एसपीद्वय श्यामकुमार राई र सञ्जयबहादुर राउत पनि केही दिनअघि मात्रै अवकाशमा गएका थिए। योभन्दा अघि उमेर हदका ठूलो संख्या यही ब्याचका एआईजी, डीआईजीहरू अवकाशमा गएका थिए।
आईजीसहितका व्यक्ति अवकाशमा जाने भएपछि आईजीदेखि एआईजी, डीआईजी बढुवाका लागि पनि प्रतिस्पर्धा हुने भएको छ। आईजीको प्रतिस्पर्धामा एआईजी दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन्।
उनीहरूमध्ये एक जना आईजीमा बढुवा भएसँगै एआईजी र डीआईजी बढुवाको बाटो खुल्छ।