काठमाडौं– काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा भोदी (विहीबार)देखि राजधानीमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो। १३ देशका प्रतिनिधिहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।
सम्मेलनमा डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा छलफल हुने महान्यायाधिवक्ता रमेश बडालले जानकारी दिए। अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र संस्थागत क्षमता सुधारका उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले बताए।
सम्मेलनमा सहभागी विज्ञहरुले ‘डिजिटल युगका अपराधहरु ः पूर्वानुमान र त्यसमाथिको सम्बोधन’ भन्ने अवधारणामा कार्यपत्रहरु प्रस्तुत गर्नेछन्। प्रविधिमा आधारित अपराधहरु बढ्दो क्रममा रहेको र त्यसले समाजमा चुनौती थपेकाले सम्बोधनका लागि सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता बडालले बताए।
सम्मेलन प्रविधिमा आधारित भएर हुने यौन हिंसा र दुर्व्यवहार, साइबर अपराध, क्रिप्टोकरेन्सी र डिजिटल आर्थिक अपराध, एआईको प्रयोगबाट हुने अपराधहरुका विषयमा केन्द्रित हुनेछ।
सम्मेलनमा नेपाल, भारत, चीन, श्रीलंका, बेलायत लगायत देशका अनुसन्धानकर्ता, अपराधशास्त्रका विज्ञहरु, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ तथा न्यायाधीश सहभागी हुनेछन्।