नेपाल प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता - Chaitanya News
  • 2026-11-21
  • 21:21:21
  • शनिबार,मंसिर ०६, २०८३
  • नेपाल प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता

    नेपाल प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता

    काठमाडौँ–  नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ५१ वटा संशोधन दर्ता भएका छन्।

    गृह मन्त्रालयले १५ माघमा प्रतिनिधिसभा दर्ता गराएको विधेयकमा ५ माघमा सैद्धान्तिक छलफल भएको थियो।

    प्रस्तावित ऐनको मस्यौदामा रहेका कतिपय विषयहरूलाई सच्याउनुपर्ने भन्दै सांसद मैना कार्की, प्रेम सुवाल, विमला सुवेदी, शेरबहादुर कुँवर, प्रकाश जवाल, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, भानुभक्त जोशी, जनार्दन शर्मा लगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

    २०१२ सालमा बनेको प्रहरी ऐनलाई प्रतिस्थापन गर्ने गरी दर्ता विधेयकका केही प्रावधानहरूमा प्रहरी प्रधान कार्यालय नक्सालसँगै पूर्वप्रहरी वरिष्ठ अधिकृतहरुको असन्तुष्टि छ। त्यसलाई लिएर पूर्वप्रहरी उच्च अधिकृतहरूले हालै सबै राजनीतिक दलका सांसद्हरुसँग छलफल समेत गरेका थि ।

    प्रहरीको ऐनको प्रस्तावित मस्यौदामा रहेको प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरिवेक्षण सम्बन्धी व्याख्यात्मक टिप्पणीमा पूर्वप्रहरी अधिकृतहरुको मुख्य असन्तुष्टि छ । यसमा नेपाल प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरीवेक्षण गृह मन्त्रालयले गर्ने भनिएको छ।

    यसले प्रहरीको आइजिपीको अधिकारीलाई खुम्च्याउने उनीहरूको भनाइ छ । जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्था, अपराधको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यका सन्दर्भमा प्रहरी कर्मचारी प्रमुख जिल्ला अधिकारीको नियन्त्रण, निर्देशन तथा सुपरिवेक्षणमा रहने भनिएको छ । यसप्रति पनि अधिकृतहरुको असन्तुष्टि छ।

    अधिकृतहरूका अनुसार, परिचालन र नियन्त्रण पुलिसिङको आधारभूत विषय हो, जसले चेन अफ कमाण्ड कायम गराउन पनि मद्दत गर्छ । तर, विशुद्ध खटनपटनको विषय परिचालनलाई फौजको नेतृत्वबाट बाहिर जान दिँदा त्यसले राम्रो नगर्ने अधिकृतहरुको भनाइ छ।