चिकित्सा शिक्षा आयोगले पीजीमा २ सय ३१ सिट थप्यो, हेनूहोस् कहाँ कति ? - Chaitanya News
  • 2026-05-03
  • 21:28:36
  • आइतबार,बैशाख २०, २०८३
  • चिकित्सा शिक्षा आयोगले पीजीमा २ सय ३१ सिट थप्यो, हेनूहोस् कहाँ कति ?

    चिकित्सा शिक्षा आयोगले पीजीमा २ सय ३१ सिट थप्यो, हेनूहोस् कहाँ कति ?

    काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी( २ सय ३१ सिट थप गरेको छ । आयोगले आज (शुक्रबार) विभिन्न विषयमा गत वर्षको तुलनामा २३१ सिट थप गरेको हो। प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको आयोगको १७ औँ बैठकले १४ वटा संस्थामा सिट संख्या थप गर्ने र चार वटामा घटाउने निर्णय गरेको हो।

    सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजमा गरेर स्नातकोत्तर तहका विभिन्न विषयमा २३१ सिट थप भएसँगै कुल १ हजार २६ सिट पाएको छ।

    गत वर्ष यी संस्थाहरूमा ७९५ सिट थियो ।

    आयोगका एक उच्च अधिकारीले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै सिट राष्ट्रिय प्रतिष्ठान न्याम्समा ११८ सिट थप भएको छ। थप भएको सिटसहित न्याम्समा पीजीका विषयको सिट २५० पुगेको छ।

    यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० सिट थप भएको छ। बीपीमा अब पीजीमा सिट संख्या २०४ पुगेको छ छ।

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानामा थप २४ सिट संख्या थपभएसँगै पिजीमा ९४ सिट पुगेको छ।

    कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीमा १७ सिट थपिएको छ। यसभन्दा अगाडी कर्णालीले पीजीमा ७ सिट पाएको थियो।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत आर्थिक वर्षमा ३४ सिट पाएको थियो। यसवर्ष थप ११ सिट बढेसँगै पीजीको सिट संख्या ४२ पुगेको छ।

    स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेसले ८ सिट थप भएको छ। यो वर्ष साइन्सेसले ५० पीजी सिट पाएको छ।

    आयोगले हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सिट दिने निर्णय गरेको छ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीको सिट ७९ पुगेको छ। यो वर्ष ५ सिट थप भएको आयोगले जानकारी दिएको छ।

    पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेसमा पीजीको ९ सिट घटेको आयोगले जनाएको छ । गत वर्ष साइन्सेसले २० सिट पाएको थियो।

    यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसले गत वर्ष १२३ सिट पाएको थियो। तर यसवर्ष ७ सिट घट्दा ११६ सिट मात्रै पढाउन पाउने भएको छ।