काठमाडौं– नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गरेका छन्।
पाण्डेले यही फेब्रुअरी ६ तारिखमा अर्जेन्टिना स्थित माउन्ट अकोन्कागुआको सफलतापूर्वक आरोहण गरेका हुन्। उनले अकोन्कागुआको शिखरमा स्थानीय समय अनुसार बिहान ७ः५० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए।
सातै महादेशका सर्वोच्च शिखरको आरोहण गर्ने अभियान अन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका थिए।
पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उनको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उनको यो ११ औं आरोहण हो। उनी २०२२ देखि यस अभियानमा रहेका छन्।
यस अभियानमा उनीसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ्ग पनि छन्। अन्य मुलुकमा पनि पर्वतारोहणमा सक्रिय रहेका पर्वतारोही तामाङ्गले सातपटक सगरमाथा आरोहण गरिसकेका छन्।
आरोही पाण्डेले यसअघि आरोही तामाङ्गसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउण्ट एलब्रुस चढेका थिए भने पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जारोको पनि सफल आरोहण गरिसकेका छन् । उनले स्वदेशमै रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसकेका छन्।
उचाइ धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको आरोही पाण्डेले बताए। उक्त क्षेत्रमा छिटो छिटो परिवर्तन भइरहने मौसमका कारण यो आरोहण सगरमाथा चढे जतिकै कठिन महशुश गरेको उनले बताए।