नेपालको लगातार पाँचौँ हार - Chaitanya News
  • 2026-06-06
  • 16:51:00
  • शनिबार,जेठ २३, २०८३
  • काठमाडौँ– नेपाल आज भएको खेलमा पनि नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको छ।

    नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले बल बाँकी छँदा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो।

    नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन्। त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन्।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो। नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो।

    नेपालका लागि पूजा महतोले अविजित अर्धशतक बनाइन्। पूजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन्। यो यस शृङ्खलाकै उच्च व्यक्तिगत स्कोर हो।

    कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन्। नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १–१ विकेट लिए।

    चौथो नम्बरमा ब्याटिङमा आएकी पूजाले शृङ्खलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन्। पूजाको यो दोस्रो टी–२०आई अर्धशतक हो। यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन्।